तिलोत्तमा — दीपक बोहराको अर्धशतक मद्दतमा विभागीय टोली एपीएफ क्लबले रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले हराएको हो । जितका लागि कर्णालीले दिएको १९० रनको लक्ष्य पछ्याएको एपीएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । एपीएफको यो तेस्रो जित हो । एपीएफका लागि बोहराले ७० रनको योगदान गरे । उनले ६७ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । सुमित महर्जनले ५३ बलमा ३५ रन बनाए ।
ओपनर लोकेस बम र कप्तान रोहित पौडेलले समान २२/२२ तथा आशिफ शेखले २५ रनको योगदान गरे । सन्दीप जोरा र भुवन कार्कीले समान ६/६ रन बनाए । बलिङमा कर्णालीका लागि दीपेन्द्र रावत र दिवान पुनले समान २/२ विकेट लिए । यस्तै, प्रकाश जैसीको नाममा १ विकेट रहृयो । त्यसअघि सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । कर्णालीका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४७ रनको योगदान गरे । उनले ७५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
दिनेश अधिकारीले ३३ रन बनाउँदा दीपेन्द्र रावतले अविजित ३० रन जोडे । प्रकाश जैसीले २०, कप्तान दिवान पुन १२ र अर्जुन घर्तीले १० रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा एपीएफका लागि अभिशेष गौतमले सर्वाधिक ४ विकेट लिए । गौतमले १० ओभरमा २ मेडन राख्दै ३३ रन खर्चिएए ।
यस्तै, कमल सिंह ऐरीले २ विकेट लिए भने कप्तान रोहितकुमार पौडेल, भुवन कार्की, किशोर महतो र दीपक बोहोराको नाममा १/१ विकेट रहृयो । यो नतिजापछि एपीएफ ४ खेलबाट ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । समान ४/४ खेल खेलेको नेपाल पुलिस क्लब ८ अंकका साथ शीर्ष स्थानमा र त्रिभुवन आर्मी क्लब आठै अंकसहित दोस्रो स्थानमा रहेको छ । कर्णाली प्रदेशको यो लगातार तेस्रो हार हो । हारसँगै कर्णाली तालिकाको आठौं स्थानमा रहृयो र उसको २ अंकमात्र छ ।
प्रतियोगिताअन्तर्गत सोमबार सिद्धार्थ रंगशालामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबबीच बिहान ९ बजे खेल हुनेछ । यस्तै, सोमबार नै हुने अर्को खेलमा विभागीय डर्बीमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तिलोत्तमास्थित एक्सट्राटेक ओभर मैदानमा एपीएफ र आर्मी बिहान ९ बजे आमनेसामने हुनेछन् ।
