बूढासुब्बा गोल्डकपमा आयोजकलाई साढे ६ लाख नाफा, १५ लाख उठ्न बाँकी

चैत्र ३, २०८१

अर्जुन सुवेदी

6 and a half lakhs profit to the organizer in Budhasubba Gold Cup, 1.5 lakhs yet to be raised

सुनसरी — २५ औं संस्करणको बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई ६ लाख ६० हजार रुपैयाँ नाफा भएको छ । आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन आयोजना गरी गोल्डकपको आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै गोल्डकपलाई भुक्तानी हुन अझै १५ लाख रुपैयाँ बाँकी रहेको जनाएको छ ।

भुक्तानी हुन बाँकी रकम आएमा नाफा अझै बढ्ने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगितामा ६६ लाख ९९ हजार १ सय ५० रुपैयाँ आम्दानी भएको र ६० लाख ४० हजार १ सय रुपैयाँ खर्च भएको जनाइएको छ । धरान उपमहानगरपालिकाका सबै वडा कार्यालयहरूबाट ७ लाख, अखिल नेपाल फुटबल संघ एन्फाबाट ५ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट ३ लाख गरी १५ लाख रुपैयाँ सहयोग रकम उठ्न बाँकी रहेकाले उक्त रकम उठेपछि २१ लाख ६० हजार रुपैयाँ बचत हुने अध्यक्ष तामाङले जानकारी दिए । 

प्रतियोगिता सम्पन्न गर्नका लागि विदेशमा रहेका धरानेहरू र त्यहाँ रहेका विभिन्न संघसंस्थाहरूबाट सबैभन्दा बढी २० लाख रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ । धरान उपमहानगरपालिकाको कार्यालयबाट ९ लाख र कोशी प्रदेश खेलकुद विकास बोर्डबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको तामाङले बताए । क्लबले २५ औं बूढासुब्बा गोल्डकपको आयोजना गर्दैगर्दा १ करोड २ लाख २५ हजार अनुमानित आय हुने अपेक्षा गरेको थियो । व्ययतर्फ उसले ८० लाख १० हजार हुने अनुमान गरेको थियो । तर प्रदेश खेलकुद विकास बोर्ड र राखेपले दिने भनिएको १० लाख रुपैयाँमा कटौती गरेकाले नाफा घटेको क्लबले जनाएको छ । गत संस्करणमा क्लबलाई १७ लाख बढी नाफा भएको थियो । माघ २४ देखि २६ सम्म भएको गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले जित्दै नगद १० लाख रुपैयाँ र उपविजेता चर्च ब्वाइज युनाइटेडले ५ लाख रुपैयाँ पाएको थियो ।

अर्जुन

Link copied successfully