काठमाडौँ — मधेश प्रदेश टिमले प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता जितेको छ । नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितामा मधेशले शनबार मूलपानी क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी प्रदेश टिमलाई १४ रनले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गरेको मधेशले २० ओभरमा सवै विकेट गुमाई १ सय ६७ रन बनायो । टोलीबाट मुनाल यादवले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरि ३२, कमलेश मण्डल धानुकले २९, सञ्जय साहले २५ तथा हेमु यादव र दिपेश रायले समान २२ रन बनाए । लुम्बिनी प्रदेशका रोहिन थलालले ४ ओभरमा ३४ रन खर्चेर ३, अनुपकुमार निशाद र युवराज सेन ओलीले २–२ तथा सुरज धिताल र रविन गौडेलले १–१ विकेट लिए ।
जबाफमा आएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५३ रनमात्र बनाउन सक्यो । कृष्ण पासीले सर्वाधिक ३२ रन बनाए । उनले २८ बल खेलि ३ चौका र १ छक्का प्रहार गरे । सुरज धितालले ११ बल खेलि ३ छक्कासहित २५, युवराजले २२, सबिर अहमदले १९ र दीपेन्द्र थापाले १६ रन बनाए । मधेशका योगराज शर्मा र मुनाल यादवले २–२ तथा दीपेशले १ विकेट लिए ।
