सप्तरीले जित्यो पाँचथर गोल्डकपको उपाधि

चैत्र २, २०८१

लक्ष्मी गौतम

Saptari won the Panchthar Gold Cup title

पाँचथर — मच्छिन्द्र फुटबल क्लब काठमाडौंलाई हराउँदै नमोबुद्व फुटबल क्लब सप्तरी पाँचथरको फिदिममा आयोजित पाँचौं संस्करणको पाँचथर गोल्डकप विजेता बनेको छ ।

शनिबार फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न फाइनल खेलमा सप्तरीले मच्छिन्द्र फुटबल क्लब काठमाडौंलाई १–० गोल अन्तरले हराँउदै उपाधि चुमेको हो । सप्तरीको जितमा विदेशी खेलाडी एलेक्सले ७२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै सप्तरीले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता मच्छिन्द्रले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफीमा चित्त बुझायो । शनिबारको खेलमा सप्तरीका निर्मल छिरिङ म्यान अफ दि म्याच घोषित हुँदै नगद ७ हजार पाँच सयसहित पुरस्कृत भए ।

सप्तरीकै दिपेश चाम्लिङ म्यान अफ दि टुर्नामेन्ट घोषित भएर नगद १५ हजार प्राप्त गरे ।

प्रतियोगिता भर समान ३–३ गोल गरेका नमो बुद्वका एलेक्स र चर्च ब्वाइजका राज भुसाल सर्वाधिक गोलकर्ता, आयोजक पाँचथर क्लबका निरोश लिङ्देन राइजिङ प्लेयर, नमो बुद्वका सप्तरीका धनकुमार तामाङ बेष्ट कोच, नमोबुद्वकै विवेक राई वेष्ट मिड फिल्डर, मच्छिन्द्रका देबेन्द्र तामाङ वेष्ट डिफेन्डर र नमोबुद्व सप्तरीका जयरत्न सेख वेष्ट गोलकिपर घोषित भए । उनीहरुलाई नगद १० हजारसहित पुरस्कृत गरियो । 

पाँचौं संस्करणको पाँचथर गोल्डकप फागुन २४ देखि सुरु भएको थियो । खेलमा नेपालका ४ वटा ए डिभिजन क्लब र भारतको हिल्स फुटबल एकेडिमीसहित आयोजक पाँचथर क्लब र सप्तरी गरी ८ टिम सहभागी थिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully