पाँचौं मेचीनगर गोल्डकप फुटबल उपाधिका लागि शनिबार भिड्दै आयोजक काँकडभिट्टा एफटीसी र चर्च ब्वाइज
झापा — काँकडभिट्टामा जारी पाँचौं मेचीनगर गोल्डकप फुटबलको उपाधिका लागि शनिबार आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र लिग विजेता चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै छ । फाइनलअघि शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले यहाँ आफूहरू पहिलो पटक च्याम्पियन बन्ने दाउमा रहेको बताए ।
२०७१ बाट सुरु भएको प्रतियोगिताको उपाधि बिर्तामोड युनाइटेड, झापा ११, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जितेको थियो ।
आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर घरेलु समर्थकको साथ घरमै उपाधि राख्ने योजनामा छ । यस सिजन पहिलो पटक फाइनलमा स्थान बनाएको आयोजक पहिलो अवसर नै उपाधि जित्ने दाउमा छ । प्रशिक्षक मुन्ना सुब्बाले घरमै उपाधि राख्न तयार आतुर रहेको बताए ।
‘चर्च ब्वाइज बलियो टोली हो । तर, हामी घरमै उपाधि राख्न खेल्छौं । घरेलु समर्थकलाई खुसी दिनेछौं,’ प्रशिक्षक सुब्बाले भने । यता चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ फाइनलअघि एक दिन विश्राम पाउँदा टिमलाई सहज हुने बताए । ‘फाइनलअघि एकदिन विश्राम पाएका छौं । लगातार खेल्दा गाह्रो भएको थियो । फाइनल जित्न खेल्नेछौं । तर, विपक्षीलाई कमजोर लिँदैनौं ।’
श्रेष्ठको प्रशिक्षणमा चर्च ब्वाइजले यसपालि झापा कप, बागमती गोल्डकप र फाल्गुनन्द गोल्डकपको उपाधि जितिसकेको छ । यसपालि मोफसलमा चर्च ब्वाइजले खेलेको १० मध्ये आठ प्रतियोगितामा फाइनलमा स्थान बनाएको छ ।
यसले सहिद स्मारक लिग च्याम्पियनपछि लयमा रहेको चर्च ब्वाइज युनाइटेड र स्थानीय दर्शकको समर्थक पाएको आयोजकबीच फाइनल खेल रोमाञ्चक हुने देखिन्छ । झापा जिल्ला फुटबल संघ र मेचीनगर खेलकुद विकास समितिको प्राविधिक सहयोग रहने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गर्नेछन् ।
सर्वोकृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ताले २५ हजार तथा उत्कृष्ट गोलकिपर र प्रशिक्षकले समान २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । फाइनलको सम्पूर्ण तयारी पूरा भएको संयोजक श्रीप्रसाद मैनालीले बताए ।
