पाँचथर — पाँचौं संस्करणको पाँचथर गोल्डकप फुटबलको उपाधिका लागि शनिबार मछिन्द्र एफसी काठमाडौं र नमोबुद्व फुटबल क्लब सप्तरी भिड्दै छन् । मछिन्द्रले सेमिफाइनलमा इन्ट्रा पथरी फुटबल क्लब मोरङलाई हराएको थियो । सप्तरी ‘ए’ डिभिजन क्लब चर्च ब्वाइजलाई हराउँदै फाइनलमा आइपुगेको हो ।
फाइनलको पूर्वसन्ध्यामा शुक्रबार फिदिम माविको मैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तानले उपाधि रक्षा गर्ने दाबी गरेका छन् । मछिन्द्रका प्रशिक्षक सबिन अधिकारीले मोफसलको टिम भए पनि सप्तरीसँग युवा खेलाडीको गर्विलो उपस्थिति रहेकाले आफूहरूले धेरै मिहिनेत गर्नुपर्ने बताए ।
यद्यपि प्रतिस्पर्धी टिमको कमजोरी पहिचान गरेर खेल्दै उपाधि रक्षा गर्ने उनको भनाइ थियो । यता नमोबुद्वका प्रशिक्षक सुरेश लामाले आफूहरूसँग मोफसलका मैदानमा पर्याप्त अनुभव भएका युवा र अनुभवी खेलाडी रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरे । क्वाटरफाइनलमा ए डिजिभनकै हिमालयन शेर्पा र सेमिफाइनलमा चर्च ब्वाइजलाई हराउन सक्नु नै आफूहरूको खेल जित्ने दर्बिलो आधार बनेको उनको दाबी थियो ।
सप्तरी पाँचथरको यो मैदानमा पहिलो पटक फाइनल पुगेको हो । मछिन्द्र पुसमा सम्पन्न फाल्गुनन्द गोल्डकपको उपविजेता टिम हो । यो प्रतियोगितामा मछिन्द्रतीन विदेशी खेलाडीसहित मैदानमा उत्रेको छ । सप्तरीले एकबाहेक सबै मधेश प्रदेशका खेलाडी मैदानमा उतारेको छ ।
पाँचौं पाँचथर गोल्डकपको उपाधि भिडन्त शनिबार अपरान्ह २ बजे फिदिम माविको मैदानमा हुनेछ । विजेताले ११ लाख १ हजार १ सय ११ रुपैंया पुरस्कारसहित ट्रफी जित्नेछ । उपविजेताको भागमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार जानेछ ।
