तिलोत्तमा — तृतराज दासको शतक मद्दतमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिबार आर्मीले कमजोर कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । आर्मीको यो लगातार चौंथो जित हो । जितका लागि पाएको २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले अविजित ११२ रनको योगदान गरे । दासले १३९ बलमा १४ चौका र १ छक्का प्रहार गरे । दास प्लेयर अफ दी म्याच घोषित भए ।
यस्तै, बसिर अहमदले अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा ४ छक्काको मद्दतमा अविजित ६१ रन जोडे । कप्तान विनोद भण्डारीले २७, भीम सार्की १२ र सन्तोष कार्कीले ७ रन बनाए । बलिङमा कोशीका लागि सन्दीप ढुंगाना, भुपाल लुइँटेल र प्रकाश कार्कीले समान १/१ विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो । कोशीका लागि सुभन गहतराजले ५१ रनको अर्धशतकीय इनिङ खेले । उनले ५७ बलमा ७ चौका प्रहार गरे । सोनु अन्सारीले ४४, सुजन थपलियाले ४२ तथा सन्दीप ढुंगानाले २१ रन बनाए । कप्तान अंकित सुवेदी २ रन र फिर्दोस अन्सारी १६ रनमा आउट भए ।
बलिङमा आर्मीका लागि सोमपाल कामी एक्लैले ४ विकेट लिए । सोमपालले ८ ओभर बलिङ गर्दै ३७ रन खर्चिए । आकाश चन्द र शहाब आलमले समान २–२ विकेट हात पारे । कुशल मल्लको नाममा १ विकेट रहृयो ।
यो नतिजापछि अपराजित आर्मी ४ खेलबाट ८ अकंका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । तालिकाको शीर्ष स्थानमा अर्को विभागीय टोली नेपाल पुलिस क्लब रहृयो ।
शनिबार नै भएको अर्को खेलमा पुलिसले मधेश प्रदेशलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो । पुसिलको समान ४ खेलबाट ८ अंक भएको छ । आर्मीको समान ८ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको हो । यसअघि आर्मीले आफ्नो पहिलो खेलमा बाग्मती प्रदेशलाई १३४ रनले हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिमलाई ८ विकेट र तेस्रो खेलमा कर्णाली प्रदेशलाई १२७ रनले पराजित गरेको थियो ।
जारी प्रतियोगितामा कोशी प्रदेश भने जितविहीन छ । यसअघिका सबै खेलमा पराजित कोशी अंक तालिकाको पुछारमा रहेको छ । कोशी आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशसँग २६ रनले पराजित भएको थियो । कोशीले दोस्रो खेलमा मधेससँग १६५ रन र तेस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग १५४ रनको हार व्यहोरेको थियो ।
प्रतियोगितामा तीन विभागीय टिम त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबसहित सात प्रदेशका टिम सहभागी छन् ।
