काठमाडौँ — मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरे ।
नेपालकै मिलन कुलुङ राईले २८:१५:२५.३ सकेन्ड समय लगातार दोस्रो तथा शेर थारु २८:४७:०६.२ सकेन्डसहित तेस्रो भए । विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र शेरले २० हजार रुपैयाँ पुरस्कार पाए ।
एक सय किमी दौडमा विशाल राई १३:२९:०४ सकेन्ड समय लगाएर च्याम्पियन बने । उक्त इभेन्टमा गोपाल तामाङले १३:३९:०७ सकेन्ड र निरोज भट्टले १४:१२:३५ सकेन्डमा दौड पूरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे । एक सय किमी दौड महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भए । रसिलाले १७:५८:०५ सकेन्डमा दौड सकाइन् । छोकी शेर्पा १८:१५:०५ सकेन्ड समय लगातार दोस्रो भइन्, फ्लेर मोउतज्वले २०:४३:०५ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरे ।
एक सय किमी दौडमा शीर्ष तीन स्थानमा रहने धावकधाविकालाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर (०६:४२:२५ सकेन्ड) पहिलो, लोकेन्द्र राई (०६:४६:३८ सकेन्ड) दोस्रो र धीरबहादुर बुढा (०६:५९:५९ सकेन्ड) तेस्रो भए । ५० किमी महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भए । प्रियाले निर्धारीत दुरी ०७:४६:०५ सकेन्डमा पूरा गरिन् । यसैगरी कल्पनाले ०८:१६:०६ सकेन्ड र राज्यलक्ष्मीले ०८:४०:५२ सकेन्ड समय लगाए ।
