महिला लङजम्पमा रजत जितेकी प्रभा ४०० मिटरमा पनि पदक नजिक पुगेकी थिइन्
काठमाडौँ — नेपालकी पारा एथलिट प्रभा आङ्दम्बेले वर्ल्ड पारा एथलेटिक्सको नयाँ दिल्ली ग्रान्ड प्रिक्समा ऐतिहासिक रजत पदक जितेकी छन् । पारा एथलेटिक्सको यो स्तरको प्रतियोगितामा नेपालले पहिलोपल्ट पदक जितेको हो ।
प्रभाले टी–४७ क्याटगोरीअन्तर्गत महिला लङजम्पमा उक्त पदक जितेकी हुन् । स्पर्धा भारतको जवाहरलाल नेहरू स्टेडियम बिहीबार भएको हो । उनले ३.९६ मिटर जम्प गरेर दोस्रो स्थान हात पारिन् । यस इभेन्टमा श्रीलंकाकी जननी विक्रमासिंघाले स्वर्ण र उज्वेकिस्तानका मेख्रिनिसो ओविदोभाले कांस्य जितेका थिए । जननीले ५.०४ मिटर र मेख्रिनिसोले ३.४९ मिटर जम्प गरे । भारतकी कीर्ति चौहान डिस्क्वालिफाई भएकी थिइन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभाको यो दोस्रो सहभागिता हो । उनले यसै महिनाको सुरुमा दुबई ग्रान्ड प्रिक्समा भाग लिएकी थिइन् । उनले ३.५६ मिटर जम्प गर्दै आठौं स्थानमा दुबई भ्रमण टुंग्याएकी हुन् । नेपालले पहिलो पटक दुबईबाटै विश्व पारा एथलेटिक्सको ग्रान्ड प्रिक्स यात्रा सुरु गरेको हो । त्यसमा प्रभासहित नवराज कार्कीले सहभागिता जनाएका थिए ।
वर्ल्ड पारा एथलेटिक्स (डब्लूपीए) को १२ औं ग्रान्ड प्रिक्स सिजन सुरु भएको छ । लस एन्जलस २०२८ पारा ओलम्पिकको नयाँ चक्रका लागि विश्वभरका पारा खेलाडीहरू यस एथलेटिक्स ग्रान्ड प्रिक्समा प्रदर्शन फर्किएका छन् । युएईबाट २०२५ को ग्रान्ड प्रिक्स सुरु भएको थियो । २०२८ को पारा ओलम्पिकका लागि ग्रान्ड प्रिक्सको प्रदर्शन छनोट आधार हुनेछ ।
सिजनको दोस्रो ग्रान्ड प्रिक्स नयाँदिल्लीमा २० देशका २ सय ८३ खेलाडी प्रतिस्पर्धामा छन् । तीनदिने प्रतियोगितामा नेपालबाट भने ६ खेलाडीले सहभागिता जनाएका थिए ।
प्रभासहित पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिसकस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए । गोविन्दले ज्याभलिन थ्रोमा पनि प्रतिस्पर्धा गरे । अन्यको प्रदर्शन औसत रहेको पारा एथलेटिक्स संघ नेपालका सचिव साङ्बु भोटे जानकारी गराए । साङ्बु पनि पारा एथलेटिक्सका खेलाडी हुन् । उनले हाङचाउ एसियन गेम्स खेलेका थिए ।
नयाँ दिल्लीमा प्रभा महिला ४०० मिटर दौडमा पनि पदक नजिक पुगेकी थिइन् । उक्त इभेन्टमा उनी चौथो स्थानमा रहिन् । उनले १ मिनेट १९.३६ सेकेन्डमा दौड पूरा गरिन् । प्रभाभन्दा ४ सेकेन्डमात्र अघि रहेकी मलेसियाकी
नुर फरहानीले कांस्य पदक जितेकी थिइन् । पाँचथरकी जन्मेकी २४ वर्षीया प्रभाको जन्मजात दाहिने हातको कुहिनामुनिको भाग छैन । उनी अहिले ल क्याम्पसमा स्नातक तहमा अध्ययनरत छिन् ।
एक वर्षअघि पहिलो विश्वविद्यालय खेलकुदमा प्रतियोगितामा गरेको प्रदर्शन देखेर उनलाई पारा एथलेटिक्समा ल्याइएको सचिव साङ्बु बताउँछन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको विश्वविद्यालय खेलकुदमा उनी कलेजबाट सहभागी भएकी थिइन् ।
त्यसपछि उनी निरन्तर राष्ट्रिय पारा एथलेटिक्सको प्रशिक्षणमा रहेकी थिइन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन डब्लूपीएबाट पारा एथलेटिक्स खेलाडीले ‘क्लासिफिकेसन’ पाउनुपर्छ । कुन क्याटगोरीमा योग्य देखिन्छन्, त्यहीअनुसार खेल्न दिइन्छ । अहिले पारा एथलेटिक्सम १२ खेलाडीले नियमित प्रशिक्षण गर्छन् ।
भारतले सेप्टेम्बरमा पारा एथलेटिक्सको वर्ल्ड च्याम्पियनसिप आयोजना गर्दै छ । नेपालको मुख्य लक्ष्य उक्त प्रतियोगिता खेल्ने रहेको सचिव साङ्बु बताउँछन् । ग्रान्ड प्रिक्सहरूमा गरेको प्रदर्शन आधारमा खेलाडी छनोट हुनेछन् । त्यसका लागि खेलाडीलाई निरन्तर प्रशिक्षणमा राखिने उनले बताए ।
