प्रधानमन्त्री कप क्रिकेट : बागमतीको पहिलो जित

चैत्र १, २०८१

सन्जु पौडेल

Prime Minister's Cup Cricket: Bagmati's first win

तिलोत्तमा — शुभ कंसाकारको उत्कृष्ट प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । प्रधानमन्त्री कपमा बागमतीको यो पहिलो जित हो ।

तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई बागमतीले ५५ रनले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ६६ रनको उच्च योगफल तयार पारेको थियो । बागमतीका लागि शुभ कांसाकारले सर्वाधिक ७७ रनको योगदान गरे । कंसाकारले ६८ बलमा ५ चौका र ६ छक्का प्रहार गरे ।

आशुतोष घिरैयाले ५८ रनको अर्धशतकीय इनिङ्स् खेले । इशान पाण्डे ३६, कप्तान पृथु बास्कोटा र प्रतीस जीसी समान १५–१५ रन बनाएर आउट भए । यस्तै, विवेक मगर १० रनमा आउट भए भने सुमन सुनारले अविजित १२ रन जोडे । बलिङमा सुदूरपश्चिमका लागि हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले समान २–२ विकेट लिए । नारायण जोशी र राहुल भण्डारीको नाममा एक/एक विकेट रह्यो ।

जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमका लागि टेक रावतले सर्वाधिक ४५ रन जोडे । कप्तान नारायण जोशीले ३९ रन बनाए भने राहुल भण्डारीले २६ रन बनाए । बलिङमा बागमतीका रिजन ढकाल र सोनु देवकोटाले ४–४ विकेट लिए भने प्रतीष जिसीले १ विकेट लिएका थिए ।

प्रतियोगितामा बागमतीको यो तेस्रो खेल हो । यसअघिका दुवै खेलमा जितविहीन रहेको बागमतीले शुक्रबारको खेलमा जित निकालेपछि २ अंक बटुल्न सफल भएको छ । बागमती आफ्नो पहिलो खेलमा विभागीय टोली एपीएफ क्लबसँग १०० रनले पराजित भएको थियो । दोस्रो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीले १३४ रनको हार बेहोरेको थियो ।

सुदूरपश्चिमको भने यो चौथो खेल हो । यसअघिका तीनमध्ये एकमा जित र दुईमा हार बेहोरेको सुदूरपश्चिम २ अंकका साथ अघि बढेको थियो । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशसँग ७९ रनले पराजित भोगेको थियो । दोस्रो खेलमा भने गण्डकी प्रदेशमाथि ६ विकेटको जित निकालेको थियो । सुदूरपश्चिम आफ्नो तेस्रो खेलमा भने विभागीय टोली त्रिभुवन आर्मीसँग ८ विकेटले पराजित भएको थियो ।

शुक्रबारको खेलमा बागमतीका शुभ कंसाकर प्लेयर अफ द म्याच घोषित भए । शनिबार सिद्धार्थ क्रिकेट रंगशालामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully