प्रधानमन्त्री कप क्रिकेट : आज एपीएफ र पुलिस भिड्दै

चैत्र १, २०८१

दुर्गालाल केसी

Prime Minister's Cup Cricket: APF and Police clash today

दाङ — प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आज दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच बिहान ९ बजेदेखि खेल सुरु हुँदैछ । दाङमा पहिलोपटक आयोजना गरिएको पीएम पुरुष क्रिकेट प्रतियोगितामा दुई बलिया टिम बिचको खेल निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक हुने अनुमान गरिएको छ ।

आजको खेलमा नेपालको राष्ट्रिय टोलीका अधिकांश सदस्य दुई टिमबाट मैदानमा उत्रिने हुँदा खेलमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । एपीएफको टिम कप्तानी नेपालका राष्ट्रिय टिम कप्तानसमेत रहेका रोहितकुमार पौडेलले सम्हालेका छन् भने नेपाल पुलिस क्लबको कप्तानी कप्तान दिपेन्द्रसिंह ऐरीले सम्हालेका छन् ।

जारी प्रतियोगितामा हालसम्म दुई टिम अपराजित छन् । एपीएफ दुई खेलमध्ये पहिलो खेलमा बाग्मती प्रदेशलाई १०० रन र दोस्रो खेलमा मधेश प्रदेशलाई २ विकेटले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब पनि दुई खेलमध्ये पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ८७ रनले र दोस्रो खेलमा कोशी प्रदेशलाई १५४ रनले हराउादै अंक तालिकाको तेस्रो स्थानमा छ । 

यी दुई टिमको खेल विगतदेखि नै प्रतिस्पर्धात्मक हुने गरेको छ । २०२२ को फाइनल खेलमा एपीएफले पुलिस क्लबलाई २१ रनले हराएको थियो । आजको खेललाई मध्यनजर गर्दै लमहीमा भईरहेको पीएम कपको व्यवस्थापन हेरिरहेको दाङ जिल्ला क्रिकेट संघले दर्शकहरुका लागि भीआईपी टिकटबाहेक अरु टिकट नि:शुल्क गरेको छ । भीआईपी टिकट शुल्क २ सय रुपैयाँ रहेको र अरु टिकटको हकमा नि:शुल्क प्रवेश गरिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यान केन्द्रीय सदस्य प्रदीप मजगौयाले बताए ।

३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेदेखि लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरु राउन्ड रोविनका आधारमा भइरहेका छन् । हरेक टिमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully