पदकसहित पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

Para athletics team returned home with medals

काठमाडौँ — विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सबाट रजत पदकसहित नेपाली पारा एथलेटिक्स टोली शुक्रबार स्वदेश फर्किएको छ ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा मार्च ११ देखि १३ सम्म भएको प्रतियोगितामा नेपाली खेलाडी प्रभा आङदेम्बेले रजत पदक जितेकी थिइन् ।

प्रभाले टी–४७ क्याटगोरीको महिला लङजम्पमा ३.९६ मिटर जम्प गर्दै रजत जितेकी हुन् । प्रभाले लङजम्पसहित २ सय र ४ सय मिटर दौडमा पनि सहभागिता जनाएकी थिइन् ।

प्रभासहित नेपालका ६ खेलाडी प्रतिस्पर्धी थिए । पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि खेलेका थिए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य रामचन्द्र श्रेष्ठलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । टोली प्रशिक्षकमा विमला राना मगर, अफिसियलमा राखेप सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी रहेका थिए ।

Para athletics team returned home with medals

कान्तिपुर

Link copied successfully