माछापोखरी गोल्डकपको उपाधि न्यू स्टारलाई

चैत्र १, २०८१

आनन्द गौतम

Machhapokhari Gold Cup title to New Star

ताप्लेजुङ — माछापोखरी हिटी गोल्डकपको उपाधि न्यू स्टार क्लब झापाले जितेको छ । आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेमा आयोजित प्रतियोगितामा गत वर्षको विजेता मरिक एफसी धरानलाई एक शून्य गोल अन्तरले हराउँदै झापाले उपाधि जितेको हो ।

खेलको ७५ औं मिनेटमा झापाका लागि एक मात्रै निर्णायक गोल निश्चल बस्नेतले गरेका थिए ।

खेलको 'म्यान अफ दि म्याच' पनि बस्नेत नै भए । उनले नगद ३ हजार प्राप्त गरे । झापाले ३ लाख रुपैयाँसहित ट्रफ, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

उपविजेता धरानले १ लाख ६० हजारमा चिक्त बुझाउनु पर्‍यो । व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता बस्नेत, उत्कृष्ट मिडफिल्डर पिके कन्दङ्गवा, 'प्लेयर अफ द टुर्नामेन्ट' विजय राई, बेस्ट प्रशिक्षक अनुभ केदेम भए । उनीहरु सबै झापाका हुन् । 

बेस्ट गोलरक्षक मारिक एफसी धरानका निशान थापा र बेस्ट डिफेन्डर पनि राजु थापा भए । उनीहरुले तीन–तीन हजार रुपैयाँ पाए । फागुन २५ बाट सुरु भएको प्रतियोगिता २९ गते सकिएको छ । आठराई त्रिवेणी गाउँपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा आठ टिम सहभागी थिए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully