काठमाडौँ — नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता शुक्रबार सुरु भएको छ ।
उद्घाटनका अवसरमा राष्ट्रिय महिला फुटबल टोलीकी प्रीति राईलाई आयोजकले २५ हजारसहित सम्मान गरेको थियो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगद प्रदानगरे ।
सोही अवसरमा नेपाल लोकतान्त्रिक खेल संघ ललितपुरका अध्यक्ष पुनित गुरुङ, बुद्ध एयरका क्याप्टेन शैलेश लिम्बू, ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष गोपाल महर्जन, शोभाचोक टोल सुधार समितिका अध्यक्ष पुरन राई, सिजन श्रेष्ठ, गम्भीर महतलगायतले पनि प्रोत्साहनस्वरुप व्यक्तिगत रूपमा प्रीतिलाई नगद प्रदान गरेका थिए ।
आयोजक क्लबको कभर्डहलमा चैत ४ सम्म चल्ने प्रतियोगितामा ६ स्पर्धामा १ सय ३१ खेलाडी सहभागी छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख ८५ हजार रहेको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे ।
पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय/७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष सिंगल्समा शीर्ष ८ वरीयता बाहेकका खेलाडी सहभागी छन् । यु–१७ पुरुष सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५/५ हजार नगद पुरस्कार हात पार्ने छन् । शीर्ष २० वरीयता बाहेकका खेलाडीको पुरुष डबल्समा प्रथम हुनेले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १०/१० हजार नगद पुरस्कार जित्नेछन् ।
मिक्स डबल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रोले ७ हजार ५ सय/७ हजार ५ सय नगद पुरस्कार पाउनेछन् । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १०–१० नगद पुरस्कार प्राप्त गर्नेछन् ।
