पुलिस क्लबद्वारा एपीएफविरुद्ध २ विकेटको जित

चैत्र १, २०८१

दुर्गालाल केसी

2 wicket win by Police Club against APF

दाङ — लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २ विकेटले पराजित गरेको छ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एपीएफ क्लबले दिएको ९५ रनको लक्ष्य पुलिस क्लबले २६ दशमलव २ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो।

सामान्य लक्ष्य पछ्याएको पुलिसले जित निकाल्न संघर्ष गर्‍यो । आठ विकेट गुमाईसकेको अवस्था दबाबमा पुगेको पुलिस क्लबलाई गुल्सन झाले चौका प्रहार गर्दै जित दिलाए। अभिशेष गौतमको बललाई लेगसाईडको दिशा देखाउँदै बाउन्ड्री लगाउँदै एपीएफविरुद्ध जित निकाले।

गुल्सनले २ चौकासहित अविजित १२ रन बनाए। कुशल भुर्तेलले २ चौकासहित ३१ रन बनाउँदा अर्जुन साउदले ११ रन र रासिद खानले १० रनको योगदान दिए।

एपीएफका लागि भुवन कार्कीले ७ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ३ विकेट लिए। यसैगरी, कप्तान रोहित पौडेल र अभिशेष गौतमले समान २-२ विकेट लिए। कमल ऐरीको नाममा १ विकेट रह्यो।

यसअघि, विभागीय टिम एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ९५ रन बनाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ क्लब २७ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा ९४ रन बनायो।

नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले महत्त्वपूर्ण ६ विकेट लिएपछि एपीएफ ९४ रनमा समेटिएको थियो।

ललितले ७ दशमलव ४ ओभरमा जम्मा १८ रन खर्चेर ३ मेडनसहित ६ विकेट लिएपछि एपीएफको टिम सस्तैमा समेटियो।

एपीएफका लागि लोकेश बमले २२ रन, आसिफ शेखले १८ रन, सन्दीप जोराले २६ रन, अमर रौतेलाले १० रन जोड्नु बाहेक अरु खेलाडी क्रिजमा टिक्न सकेनन्।

ललितले आसिफ शेख, सन्दीप जोरा, सुमित महर्जन, भुवन कार्की, कमलसिंह ऐरी र अभिशेष गौतमलाई सिकार बनाउँदै ६ विकेट लिँदा सागर ढकाल, करण केसी, गुल्सन झा, कुशल भुर्तेलले समान १-१ विकेट लिए।

पुलिलको जित आधार तयार पार्न १८ रन दिएर ६ विकेट लिएका ललित नारायण राजवंशी प्लेयर अफ द म्याच भए।

पछिल्लो पाँच खेलमा पुलिस क्लब अपराजित टिम हो भने एपीएफले चारमा जित र २ मा हार व्यहोरेको छ।

एपीएफ विरुद्ध जित हासिल गर्दै पुलिस क्लबले अंक तालिकामा पनि सुधार गरेको छ। जितसँगै पुलिस क्लब तीन खेलमा सतप्रतिशत जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने एपीएफ क्लब तेस्रो स्थानमा झरेको छ।

अंक तालिकाको शीर्ष स्थानमा त्रिभुवन आर्मी क्लब रहेको छ। जारी प्रतियोगितामा अब शनिबार मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच बिहान ९ बजेपछि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुनेछ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता भैरहेको छ। ३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन्।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully