विराटनगर — नवौँ संस्करणको रात्रीकालीन विराट गोल्डकप फुटबल प्रतियोगितामा थ्रीस्टार दोस्रो पटक च्याम्पियन बनेको छ। विराटनगरस्थित सहिद रंगशालामा बुधबार मध्यराति सम्पन्न फाइनल खेलमा थ्रीस्टारले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो।
जितसंगै उसले ११ लाख नगद पुरस्कार जित्यो। चर्च ब्वाइजले ५ लाखमा चित्त बुझायो।
थ्रीस्टारका खेमराज श्रेष्ठले खेलको ५ औं मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ६३ औं मिनेटमा दिपेश घलेले गोल थिप्दै अग्रता दोब्बर बनाए। सुरुवातमा आक्रामक खेलेको चर्च ब्वाइजलाई थ्रीस्टार क्लबले टेक्निकल खेल प्रदर्शन गर्दै पराजित गरेको हो। थ्रीस्टारले विधागत रूपमा पनि आफ्नो बर्चस्व कायम राख्यो।
चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रे पनि सफल हुन सकेन। यसअघि थ्रीस्टारले पाँचौं संस्करणको विराट गोल्डकपमा नेपाली सेनाको आर्मीलाई ३-० गोलले हराउँदै पहिलो पटक उपाधि जितेको थियो।
प्रतियोगितामा थ्रीस्टारका गणेश खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । थ्रीस्टारकै विवेक मगर उत्कृष्ट गोलरक्षक, दिपेश घले सर्वाधिक गोलकर्ता र खेमराज श्रेष्ठ वेष्ट प्लेयर अफ द टुर्नामेण्ट घोषित भए।
चर्च ब्याइजका एकराज बुढाथोकी म्यान अफ द म्याच भए । उनीहरूलाई समान १५ हजारका दरले पुरस्कृत गरियो।
