प्रधानमन्त्री कप  क्रिकेट : कमलसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा एपीएफ २ विकेटले विजयी 

फाल्गुन २९, २०८१

दुर्गालाल केसी

Prime Minister's Cup Cricket: APF won by 2 wickets on Kamalsingh Airy's all-round performance

दाङ — प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबले २ विकेटको जित निकालेको छ । कमलसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा एपीएफले मधेश प्रदेश विरुद्ध २ विकेटको जित हात पारेको हो ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपीएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । एपीएफलाई जित दिलाउन कमलसिंह ऐरीले विजयी छक्का प्रहार गरे । उनले ३ छक्काको सहयोगमा अविजित २८ रन बनाए  । समान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किएपछि केही दबाबमा परेको एपीएफलाई कमलसिंह ऐरीले उत्कृष्ट पारी खेल्दै जित दिलाए ।

३१औं ओभरमा हरिशंकर शाहको बलमा कमलसिंह ऐरीले लगातार दुई छक्का प्रहार गर्दै मधेश प्रदेशलाई दबाब सिर्जना गरेका थिए । ७९ बलअगावै जित हासिल गरेको एपीएफका लागि २१ रन बनाउँदा तेस्रो ओभरमा लोकेश बमलाई १८ रनमा गुमाएको एपीएफले आसिफ शेखलाई पनि उनको ३४ रनमा गुमाएको थियो ।

कमल गुप्ताको कसिलो बलिङमा कप्तान रोहित पौडेल १८ रनमा, दीपक बोहरा डकआउटको सिकार भए । सुमित महर्जनले ३५ रनको योगदान दिँदै टिमलाई जितको आधार तयार पारे । अमरसिंह रौतेलाले १६ रन बनाउँदै प्रदीप पासवानको बलमा  बोल्डआउट भए ।

मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले  १ मेडनसहित २८ रन दिएर २ विकेट लिए । रुपेश सिंह र हरिशंकर शाहले १-१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ४० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । मधेशले सुरुवात राम्रो गरे पनि मध्यक्रमका ब्याटर क्रिजमा टिक्न नसक्दा एपीएफलाई मध्यम लक्ष्य दिएको थियो । मधेशका कप्तान अनिलकुमार साह र मयन यादवले ३१ रन बनाएर खेलिरहेका बेला भुवन कार्कीको बलमा मयन बोल्ड आउट भएपछि मधेशको विकेट पतन सुरु भएको थियो ।

यद्यपि, मधेशका पवन सर्राफले पारी उकासेका थिए । ५ छक्का र ८ चौकासहित ७७ रन बनाएर ३४ औं ओभरमा कमलसिंह ऐरीले बोल्ड गर्दै  पेभेलियन फर्काएपछि त्यसपछिका ब्याटर एपीएफका बलरको दबाबमा खेले। ३४औं ओभरमा  कमलसिंह ऐेरीले पवन र दिनेश दासलाई आउट गरेपछि एपीएफले विशाल रन हुन रोकेको थियो ।

मधेशका लागि कप्तान अनिल साहले १७ रन, मयन यादवले ११ रन, रुपेश सिंह र प्रदीप पासवानले समान १०-१० रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । १६८ रनमा समेट्न एपीएफका कमल सिंह ऐरीले १ मेडनसहित ९ ओभरमा ५५ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए । यसैगरी, भुवन कार्की र कप्तान रोहित पौडेलले समान २-२ विकेट लिदा अभिशेष गौतमले १ विकेट लिए । 

प्रतियोगितामा बलिङ तथा ब्याटिङ अलराउन्ड प्रदर्शन गरेका कमलसिंह ऐरी प्लेयर अफ द म्याच भए । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टिम सहभागी छन् ।

दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरू राउन्ड रोबिनका आधारमा भइरहेका छन् । हरेक टिमले एक अर्को टिमसँग खेल्नेछन् ।

आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ । जारी प्रतियोगितामा बिहीबारको जितसँगै  एपीएफ क्लब अंक तालिमको शीर्ष स्थानमा उक्लिएको छ भन मधेश प्रदेश चौथो स्थानमा छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully