इण्डो-नेपाल टी-ट्वान्टी क्रिकेट
झापा — इण्डो-नेपाल टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा बिहीबार भारतको पेनोरिस-११ ले बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गरी फाइनल प्रवेश गरेको छ।
झापाको मेचीनगर-४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पेनोरिसले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनायो। पेनोरिसका सुभांकर देवनाथले सर्वाधिक ४३ रन बनाए भने सिन्टु देव र एमडी अहमेदले समान २७, कुमार रोयले २५ रन तथा विनोमली रोय र अरिन्दम रक्षितले समान १७ रनको योगदान दिए।
बौद्धमोडका बलरहरूमध्ये सुजन रिजालले सर्वाधिक ४ विकेट लिए। त्यसैगरी अमन विश्वकर्माले ३, भोला रोयले २ र रोमसन एमडीले १ विकेट हात पारे।
१ सय ८४ रनको लक्ष्य पछ्याएको बौद्धमोडले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४७ रन मात्रै बनाउन सक्यो। बौद्धमोडका रमजान एमडीले सर्वाधिक ४० रन बनाए भने सागर मजुमदारले २९, रोशन शर्माले २४ र अमन विश्वकर्माले २२ रन बनाए। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा टिम सेमिफाइनलबाटै निराश भयो ।
पेनोरिसका बलरहरू राकेश रोय र सुनिल घोसले समान ३ विकेट लिए भने एमडी अहमेदले २ तथा करणजित शाह र बेनोमोली रोयले समान १ विकेट हात पारे।
खेलको उत्कृष्ट खेलाडी पेनोरिसका शुभांकर देवनाथ भए, जसले नगद १ हजार र मायाको चिनो प्राप्त गरे।
आयोजक बाहुनडाँगी युवा क्लबका सदस्य निकेश दाहालका अनुसार फागुन २१ गतेबाट सुरु भएको यस प्रतियोगिताको फाइनल चैत ४ गते हुनेछ ।
