सप्तरी पाँचथर गोल्डकपको फाइनलमा

फाल्गुन २९, २०८१

लक्ष्मी गौतम

In the Saptari Panchthar Gold Cup Final

पाँचथर — नमोबुद्व फुटबल क्लब सप्तरी पाँचथरको फिदिममा जारी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज क्लब काठमाडौंलाई टाइबेकरमा ४–२ गोल अन्तरले हराउँदै सप्तरी ११ लाख रुपैयाँ पुरस्कार राशिको पाँचथर गोल्डकपमा उपाधि दाबेदार बनेको हो । निर्धारित ९० मिनेटको समयमा दुवे टिम २–२ गोल बराबरीमा खेलेपछि टाइबेकरमा निर्णय लिइएको थियो ।

टाइबेकरमा सप्तरीका तर्फबाट विवेक गुरुङ, विवेक राई, अनिल मगर र आयुष मगरले गोल गरे भने चर्च ब्वाइजका तर्फबाट विदेशी खेलाडी तल्ला र सागर तिरुवाले मात्रै गोल गरे ।

चर्च ब्वाइजका अर्का विदेशी खेलाडी फोफोना र अविशेक महतोको प्रहार सप्तरीका गोलरक्षक जयरत्न शेखले बचाउ गरेसँगै चर्च ब्वाइज सप्तरीसँग पराजित भएको हो । निर्धारित समयमा नमोबुद्वका तर्फबाट खेलेका विदेशी खेलाडी जेम्सले खेल सुरु भएको ३३ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएका थिए । जवाफमा पहिलो हाफको इन्जुरी समयमा चर्च ब्वाइजका ध्रुव राईले गोल फर्काए । 

पुनः६१ मिनेटमा सप्तरीका जेम्सले थप एक गोल गरेर गोल अन्तर दोब्बर बनाए पनि ८५ औं मिनेटमा चर्च ब्वाइजका राज भुसालले गोल थपेर बराबरीमा पुर्‍याएपछि खेल टाइबेकरमा धकेलिएको हो ।

बिहीबार सम्पन्न अन्तिम सेमीफाइनलमा सप्तरीका गोलरक्षक जयरत्न शेख म्यान अफ दि म्याच घोषित हुँदै नगद ७ हजार ५ सयसहित पुरस्कृत भए । यो जीतसँगै अब पाँचथर गोल्डकपको उपाधिका लागि सप्तरीले मच्छिन्द्र फुटबल क्लब काठमाडौंसँग शनिबार प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यस संस्करणका विजेतालाई ११ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र दिइने अध्यक्ष तुम्रोकले जानकारी दिए । प्रतियोगिताका उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully