प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको तेस्रो र लुम्बिनीको दोस्रो जित

फाल्गुन २९, २०८१

सन्जु पौडेल

Army's 3rd win and Lumbini's 2nd win in Prime Minister's Cup cricket

तिलोत्तमा — रूपन्देहीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेश विजयी भएका छन् । आर्मीको यो लगातार तेस्रो जित हो । लुम्बिनीको भने यो दोस्रो जित हो ।

तिलोत्तमास्थित एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनले पराजित गरेको हो । जितका लागि आर्मीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७ दशमलव १ ओभरमा १३५ रनमै समेटियो ।

कर्णालीका लागि प्रकाश जैसीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । जैसीले ७२ बलमा २ चौका र २ छक्का प्रहार गरे । विपिन रावल २३ रन बनाएर आउट भए । दिनेश अधिकारी २२ र विपिन शाही १२ रन बनाएर पभेलियन फर्किए । अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । बलिङमा आर्मीका लागि सहाव आलम एक्लैले तीन विकेट लिए । आलमले १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चिए । सोमपाल कामी, कुशल मल्ल र आकाश चन्दले समान २/२ विकेट हात पारे ।  

त्यसअघि कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा आएको आर्मीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ६३ रनको उच्च योगफल तयार पारेको थियो । आर्मीका लागि तृतराज दासले अर्धशतक प्रहार गरे । दासले ८४ बलमा १० चौका प्रहार गर्दै ६९ रनको योगदान दिए । कप्तान विनोद भण्डारीले ५६ रनको अर्धशतकीय इनिङ्‍स खेले । भण्डारीले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । भीम सार्की ४०, बसिर अहमद ३६ र सोमपालका कामी १३ रन बनाएर आउट भए । बलिङमा कर्णालीका लागि प्रकाश जैसी एक्लैले चार विकेट हात पारे । उनले १० ओभरमा ६४ रन खर्चिए । दिनेश अधिकारीले ३ तथा सुनिल धमलाले २ विकेट लिए । 

आर्मी लगातार तेस्रो जित हासिल गर्दै ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली २ अंकका साथ तालिकाको छैटौं स्थानमा रहृयो । तीन खेल खेलेको कर्णाली एकमा विजयी हुँदा दुईमा पराजित भएको थियो । 

लुम्बिनी प्रदेश १४ रनले विजयी

प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत बिहीबार नै भएको अर्को खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ । भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले पराजित गरेको हो ।

लुम्बिनीको यो दोस्रो जित हो । गण्डकीको भने दोस्रो हार हो । जितका लागि लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २०३ रन मात्र बनाउन सक्यो ।

गण्डकीका लागि अर्जुन कुमालले ६२ रनको अर्धशतकीय इनिङ्‍स खेले । उनले ८६ बलमा ८ चौकार प्रहार गरे । ओपनर मुस्खान थापा २४ रनमा आउट भए । सुवास भण्डारी ३० र कमल परियार १५ रन बनाएर पभेलियन फर्किए भने अमृत गुरुङले अविजित २४ रन बनाए । अन्य ब्याटरले राम्रो रन जोड्न सकेनन् । बलिङमा लुम्बिनीका निर्मल गुरुङले ३ विकेट लिए । विप्रसन केसीले २ तथा रमेश कुर्मी र नर सार्कीले समान एक–एक विकेट हात पारे । 

त्यसअघि सिद्धार्थनगर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको लुम्बिनीले ४९.५ ओभरमा सबैका विकेट गुमाउँदै २१७ रन बनाएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले अर्धशतकीय इनिङ खेले । थापाले ७९ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ७२ रनको योगदान गरे । ओपनर मृनल गुरुङले ३८, कप्तान देव खनालले ३३, विप्रसन केसीले २५ रन बनाए । मनीष थापा २४ रनमा आउट भए । 

बलिङमा गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ३ विकेट लिए । चन्द्र पौडेल र विपिन खत्रीले समान २–२ तथा सुवास भण्डारी, कमल परियार र भान्स क्षेत्रीले समान एक/एक विकेट हात पारे । 

यो नतिजापछि तीन खेलबाट २ मा जित र एकमा हार व्यहोरेको लुम्बिनी चार अंकसहित तालिकाको चौंथो स्थानमा रहृयो । समान तीन खेलबाट २ अंकसहित गण्डकी तालिकाको आठौं स्थानमा रहेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार तिलोत्तमास्थित एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा बाग्मती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully