एनओसी विवाद समाधानतर्फ

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Towards NOC Dispute Resolution

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनपछि उत्पन्न विवाद समाधानतर्फ अग्रसर भएको छ । पुस १३ मा भएको साधारणसभाविरुद्ध ५ खेल संघले मुद्दा दायर गरेपछि विवाद उत्पन्न भएको थियो ।

तर, अब अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को समन्वयमा विवाद सहमतिमा टुंगिने भएको हो ।

एनओसीमा आफूहरूले सदस्यता नपाएको भन्दै नेपाल मोर्डन पेन्टाथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्टबल संघले साधारण रोक्ने अनुरोधसँग अदालतमा मुद्दा दायर गरेका थिए । अब सहमतिअनुसार एनओसीले १५ दिनभित्र विशेष साधारणसभा बोलाउने छ ।

अब ५ संघले एनओसीविरुद्धको मुद्दा फिर्ता लिनेछ । एनओसीले प्रेस विज्ञप्ति जारी गर्दै विवाद समाधानका लागि ओसीएको कुवेतस्थित मुख्यालयमा सबै पक्षबीच छलफल भएर सहमति भएको जनाएको छ । अदालतमा परेको मुद्दाकै कारण युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले एनओसीको चुनावलाई मान्यता दिएको थिएन ।

कुवेतमा भएको छलफलमा पाँचै संघका अध्यक्ष सहभागी थिए । त्यसमा पेन्टाथलनका राजेन्द्र श्रेष्ठ, इक्वेस्ट्रिेरियनका रवि राजकर्णिकार, रग्बीका दीपक देवकोटा, स्केटिङका अच्युत खनाल, बेसबलका दीपक न्यौपानेको सहभागिता थियो । विवाद समाधानका लागि ओसीएका महानिर्देशक हुसेन अल मुसल्लाम र एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको रोहबरमा सबै अध्यक्षले दुई बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् । छलफलमा एनओसीका पूर्वमहासचिव निलेन्द्रराज श्रेष्ठ पनि उपस्थित थिए । 

Towards NOC Dispute Resolution

कान्तिपुर

Link copied successfully