थण्डर-११ इण्डो-नेपाल टि-२० क्रिकेटको सेमिफाइनलमा

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Thunder-11 in Indo-Nepal T20 cricket semi-final

झापा — झापाको मेचीनगर-४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थण्डर-११ सेमिफाइनल प्रवेश गरेको छ।

टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । पानीका कारण १६ ओभरको म्याच खेलाइएको थियो । थण्डरका लागि किरात डाँगीले सर्वाधिक ३७ रन बनाए । त्यस्तै, विधान दुलालले १८ रन, शिव राजवंशीले १६ रन तथा नित्य खडरियाले १५ रन बनाएका थिए ।

बलिङतर्फ दमकका लागि आनन्द शर्माले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, रवित राजवंशी र एलिक राईले समान २/२ विकेट लिए भने आयुष न्यौपानेले १ विकेट लिए ।

१ सय १५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा दमकले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै मात्रै ९३ रन बनाउन सक्यो । दमकका लागि सुरज न्यौपानेले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ३४ रन बनाए । उनले १६ बल खेल्दै ३४ रन बनाएका हुन् । त्यस्तै, विजय तामाङले ३२ तथा नुर अन्जानले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा दमकले हार बेहोर्न पुग्यो ।

बलिङतर्फ थण्डरका लागि आनन्द शर्माले सर्वाधिक ३ विकेट लिए भने रोहित राजवंशी र एलिक राईले समान २/२ विकेट लिए भने आयुस न्यौपानेले १ विकेट हात पारे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी थण्डरका आनन्द शर्मा घोषित हुँदै नगद १ हजार रुपैयाँ र मायाको चिनो प्राप्त गरे । उनले बलिङतर्फ ३ विकेट लिएका थिए भने ब्याटिङतर्फ ३ रन प्रहार गरेका थिए ।

फागुन २१ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको मुख्य उद्देश्य बाहुनडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुनडाँगी युवा क्लबले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully