एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक

फाल्गुन २८, २०८१

अर्जुन शाह

SPA Sudurpaschim Sports Awards: Sudurpaschim Icon male and female category nominations announced

धनगढी — कैलालीको धनगढीमा हुने ‘छैटौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ को दुई वटा विधाको मनोनयन सार्वजनिक गरिएको छ । सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी मनोनयनमा परेका आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 

जोशी बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बन्दा टोलीका सदस्य थिए । उनी एसियाली खेलकुदअन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा छन् । 

पौडीका सिंहले वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा नयाा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । उनले सन् २०१३ को दक्षिण एसियाली खेलकुद सागमा बनेको कीर्तिमान उनले भंग गरेका थिए । पौडीतर्फ राष्ट्रिय प्रतियोगिताहरुमा सुदूरपश्चिम प्रदेशलाई पदक जिताउने उनी एक्ला खेलाडी हुन् । उनले वर्ष २०८१ म दुई स्वर्ण, दुई रजत र तीन कास्य गरी ७ पदक जितेका थिए । क्रिकेटका धामी यू-१९ एसिया कपमा अफगानस्तानमाथि जित दर्ता गराउन उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टिमका कप्तान हुन् । सिनियर टोलीबाट क्यानडाविरुद्ध डेब्यु खेलमा उनले तीन विकेट लिएका थिए ।

सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । बोहरा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । उनी ५६औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जित्ने सुदूरपश्चिम प्रदेशको एक मात्रै खेलाडी हुन् । 

कबड्डीकी जोशी इरानमा भएको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपालले कास्य पदक जित्ने टोलीकी सदस्य हुन् । उनी एसियाली खेलकुद अन्तर्गत मिसन २०२६ का लागि बन्द प्रशिक्षणमा पर्न सफल भएकी छिन् । क्रिकेटकै सावित्री धामी १९ वर्षमुनिको सुशील कोइराला मेमोरियल क्रिकेटमा उत्कृष्ट खेलाडी भएकी थिइन् । उनी मैयादेवी महिला क्रिकेटमा उत्कृष्ट ब्याटर भएकी थिइन् । 

आयोजकका अनुसार दुवै विधाका विजेता खेलाडीलाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ । छैटौं संस्करणको अवार्डमार्फत वर्ष ०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला तथा पुरुषसंगै उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड विधामा अवार्ड प्रदान गरिने जनाएको छ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने भएको छ । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully