मेचीनगर गोल्डकप : सडन डेथमा काँकडभिट्टा फाइनल प्रवेश

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Mechinagar Gold Cup: Kakadvitta enters the final in sudden death

झापा — आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौं मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार दोस्रो सेमिफाइनलमा धरानलाई सडन डेथमा स्तब्ध गर्दै आयोजकले उपाधि नजिकको यात्रा तय गरेको हो ।

उपाधिका लागि बिहीबार अन्तिम सेमिफाइनल खेलको विजेता चर्च ब्वाइज क्लब र मच्छिन्द्र क्लबमध्ये एकसँग उसको भेट पक्का भएको छ । 

काँकडभिट्टा माविको मैदानमा ९० मिनेटको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकर हुँदै सडन डेथबाट अन्तिम निर्णय लिइएको थियो ।  टाइब्रेकरमा दुवै टोलीका चार–चार खेलाडीले गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो ।

सडन डेथमा आयोजक टीमका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार आयोजकका गोलरक्षक विवश चौधरीले निस्तेज पारे ।  यो नतिजासँगै काँकडभिट्टाले ५–४ को जित निकाल्यो ।

टाइब्रेकरमा आयोजकका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरेका थिए भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो । धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टले गोल गरे भने सुगम जिमीको प्रहार बाहिरिएको थियो ।

खेलको ३४औं मिनेटमा धरानका कप्तान मिलन राईले उत्कृष्ट एकल प्रदर्शन गर्दै सुरज रसाइलीलाई पास मिलाएका थिए, जसलाई रसाइलीले गोलमा परिणत गरे ।

तर, खेलको ७२औं मिनेटमा आयोजकले खेल बराबरी गर्न सफल भयो । विवेक गुरुङले प्रहार गरेको कर्नर किकलाई हेमन्त लिम्बूले हेडरमार्फत जाली चुमाए ।

खेलमा आयोजकका विदेशी खेलाडी इब्राहिम र एलेक्सले गोल गर्ने अवसर गुमाए । धरानका सुरज रसाइली र विवेक राईको प्रहार बारमा लागेर फर्किएको थियो ।

आयोजकका प्रशिक्षक मुन्ना सुब्बाले विपक्षी टिम बलियो भएपनि जित निकाल्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले टिमको तालमेल राम्रो हुन नसकेको स्वीकार्दै फाइनलमा त्यो गल्ती नदोहोर्‍याउने बताए । 

धरानका प्रशिक्षक हेमकुमार गुरुङले खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपनि नतिजा अनुकूल आउन नसक्दा दुःख लागेको बताए । 

आयोजकका गोलरक्षक विवश चौधरी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

कान्तिपुर

Link copied successfully