तिलोत्तमा — रूपन्देहीस्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार मधेश प्रदेश विजयी भएको छ । मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको सानदार जित निकालेको हो । मधेशको पहिलो जित हो ।
तीन ब्याटरको अर्धशतकप्रेरित मधेशले ६ विकेट गुमाई २ सय ८४ रनको बलियो योगफल बनाएको थियो । टस जितेर ब्याटिङ गरेको मधेशका लागि पवन सर्राफले ८५ बलमा ९२ रन बनाए । उनले ११ चौका र २ छक्का प्रहार गरे ।
ओपनर तथा कप्तान अनिलकुमार शाहले ७५ रन बनाए । ७५ बल खेलेका अनिलले १० चौका प्रहार गरे । दीपेश दासले नटआउट ५६ रन बनाए । उनले ६० बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए । कोशीका विपिन महतो र प्रकाश कार्कीले २–२ विकेट लिएका थिए ।
२ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट भयो । कोशीका शकिब हकले २५ रन बनाए । ओपनरद्वय चिराग शाह र अंकित सुवेदी दुवै डकआउट भए । बलिङमा मधेशका रुपेश सिंहले २९ रन खर्चेर ५ विकेट लिए । राजेश यादवले ३ विकेट हात पारे । पवन सर्राफ प्लेयर अफ द म्याच बने । कोशीको लगातार दोस्रो हार हो ।
बुधबार सिद्धार्थ क्रिकेट मैदानमा सुदूरपश्चिम र त्रिभुवन आर्मी तथा एक्स्ट्राटेक ओभल मैदानमा कोशी प्रदेश र नेपाल पुलिसबीच खेल हुनेछ ।
कर्णालीविरुद्ध गण्डकीलाई सफलता
दाङ– दीपक डुम्रेको अविजित अर्धशतकमा गण्डकी प्रदेशले मंगलबार प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध ४ विकेटको जित निकालेको छ । लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा कर्णाली प्रदेशले दिएको ९२ रनको सामान्य लक्ष्य गण्डकीले ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
गण्डकीका सुरुआती ब्याटर सस्तैमा आउट भएपछि दबाबमा पर्दा दीपक डुम्रे र सुजन गौतमले सम्हालिएर खेल्दै २९.१ ओभरमा टिमलाई जित दिलाएका थिए ।
१२ ओभरमा २२ रनमै ६ विकेट गुमाइसकेको अवस्थामा दीपक र सुजनले गतिलो साझेदारी गरे । दीपकले ७ चौकाको मदतमा ५० रन र सुजन गौतमले ३ चौकाबाट २२ रन बनाए । अर्धशतक बनाएका दीपक डुम्रे प्लेयर अफ द म्याच भए । कर्णालीका दिवान पुनले ३ विकेट लिँदा दीपेन्द्र रावतले २ र युनिश ठकुरीले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीका कुनै पनि खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । विपिन शाहीले २०, अर्जुन घर्तीले १७, विपिन रावलले १५, हिमान्शु शाहीले १२ रन बनाउनुबाहेक अन्यले गतिलो रन जोड्न नसक्दा २७.२ ओभरमा अलआउट भएर कर्णाली ९१ रन समेटिएको थियो ।
कर्णालीलाई सस्तैमा समेट्न गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले २–२ विकेट लिए । सन्दीप पराजुली र अमृत गुरुङको नाममा १–१ विकेट रह्यो ।
गण्डकीले २ खेलमा पहिलो जित निकालेको हो । यसअघि गण्डकीले सुदूरपश्चिमसँग ६ विकेटको हार बेहोरेको थियो । बिहीबार विभागीय टोली एपीएफ र मधेश प्रदेशबीच खेल हुने तालिका छ ।
