मच्छिन्द्र पाँचथर गोल्डकपको फाइनलमा

फाल्गुन २८, २०८१

लक्ष्मी गौतम

Machindra Panchthar in the Gold Cup final

पाँचथर — मच्छिन्द्र फुटबल क्लब फिदिममा जारी पाँचौं संस्करणको पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा बुधबार सम्पन्न सेमीफाइनलमा प्रतिद्वन्द्वी इन्ट्रा पथरी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएसँगै मच्छिन्द्र पाँचथर गोल्डकपको उपाधि दाबेदार बनेको हो ।

मच्छिन्द्रका तर्फबाट पहिलो गोल २३ औं मिनेटमा विशाल घलानले १ गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिएपनि पथरीका तर्फबाट खेलेका विदेशी खेलाडी अर्माण्ड वाइडमले ६६ औं मिनेटमा जवाफी गोल फर्काउँदै बराबरीमा पुर्‍याएका थिए ।

पुनः मच्छिन्द्रका तर्फबाट खेलेका अर्का विदेशी खेलाडी स्टेफेनले ८४ औं मिनेटमा दोस्रो गोल गर्दै पुनः आफ्नो टिमलाई अगाडि बढाए ।

तेस्रो गोल समयमा मच्छिन्द्रका नवयुग श्रेष्ठले अतिरिक्त गरे । बुधबारको खेलमा मच्छिन्द्रका तर्फबाट खेलेका स्टेफेनलाई उत्कृष्ट खेलाडी घोषित गर्दै नगद ७ हजार ५ सय रुपैयाँ पुरस्कार दिइयो ।

बिहीबार चर्च ब्वाइज क्लब काठमाडौं र नमोबुद्व फुटबल क्लब सप्तरीबीच सेमीफाइनल चरणको अन्तिम खेल हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।

फाइनल खेल चैत २ गते हुने तालिका छ । फागुन २४ गते सुरु भएको पाँचौं संस्करणको पाँचथर गोल्डकपमा नेपाल र भारतका ८ टिम सहभागी थिए । 

यस संस्करणका विजेताले नगद ११ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully