काठमाडौँ — काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा पहिलो पटक काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता डीसीसी कप हुने भएको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा चैत २ देखि ९ सम्म हुने प्रतियोगितामा काठमाडौंका ११ नगरपालिकाले भाग लिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी गराए ।
विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्नेछन् ।
प्रमुख बुढाथोकीले अर्को वर्षदेखि ७७ जिल्लाका पालिकाको सहभागितामा बृहत रूपमा प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको बताए ।उनले भने, ‘यो वर्षको प्रतियोगिताको सफलतापछि अर्को वर्ष हामी यसलाई देशव्यापी बनाउने छौं ।’
नगरपालिकाबीचको सम्बन्धलाई प्रगाढ बनाउन र फुटबल खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता सुरु गरिएको बुढाथोकीले बताए । टिममा सम्बन्धित पालिकाका स्थानीय खेलाडीले मात्र प्रतिनिधित्व गर्न पाउनेछन् । यसले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
