दसौं राष्ट्रिय खेलकुदको अब मिति नसर्ने हुँदा तयारीमा लाग्न खेलकुदमन्त्रीको निर्देशन
सुर्खेत — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफूले कार्यभार सम्हालेयता एकपटक मात्रै मिति सारिएकाले पटक पटक सारिएको भनेर भ्रम पैदा नगर्न आग्रह गरेका छन् ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको सचिवालय स्थापनाका क्रममा सुर्खेत आइपुगेका उनले अब नसर्ने गरी आगामी जेठको मिति प्रस्ताव गरिएको बताए । प्रतियोगिताको मूल आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दसौं राष्ट्रिय खेलकुद २०८२ जेठ ३ देखि १० सम्म कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरिसकेको छ । राखेपले यसअघि २३ चैत देखि २९ गतेको मिति तय गरेको थियो । चैतमा तयारी नपुग्ने भएपछि जेठको मिति तय गरिएको राखेपले जनाएको छ ।
राखेप बोर्ड अध्यक्षसमेत रहेका खेलकुदमन्त्री चौधरीले यदि जेठमा सम्भव नभए असारमा पनि सम्भव नहुने हुँदा जेठमै गर्नुको विकल्प नभएको बताए । मंसिरदेखि भाग्दै जेठसम्म आइपुगेका छौं,’ उनले भने, ‘जेठमा नभए असारमा झन् सम्भव हुने कुरै भएन । त्यसैले अब भाग्ने ठाउँ छैन । कुनै सर्तमा पनि रोकिन्न । हामीले फेस सेभिङका लागि मात्र जेठको मिति तोकेको होइन ।’
आफूले मन्त्रालयको अन्य कामहरू छाडेर प्रतियोगिताको तयारीको काममा जुटेको उनको भनाइ छ । ‘उपसमितिहरू गठन भइसकेका छन्, मूल आयोजक समितिको सचिवालय स्थापना भैसकेको छ, टेण्डर आह्वानको काम सुरु भएको छ,’ कान्तिपुरसँगको कुराकानीमा मन्त्री चौधरीले भने, ‘प्रतियोगिता ७ दिनको हुन्छ, तर गर्मीबाट सुरक्षित हुन बिहान–बेलुका गरी १५ दिनको समय व्यवस्थापन गर्दै छौं ।’ नेपालगन्जमा पनि आठौं राष्ट्रिय खेलकुद पनि वैशाखमै भएको जिकिर गरे ।
खेलकुदमन्त्री जेठमा आयोजना हुनेमा प्रसस्त आधार रहेको दाबी गर्छन् । उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि बजेटको स्रोत सुनिश्चिता भई सामान खरिद, खेलाडी प्रशिक्षणलगायतका कार्यका लागि पर्याप्त समय छ । सोमबारदेखि सातवटै प्रदेश सरकारलाई खेलाडीको टिम तयार गर्न पत्राचार गरिने बताए । मन्त्री चौधरीले जेठमै प्रतियोगिता गर्न सम्भव छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।
मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश जेठमा आयोजना हुने प्रतियोगिताको व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको प्रस्ट पारे । ‘पटक–पटक प्रतियोगिता सर्दा खेलाडी र खेलप्रमी हत्साहित बनेको अवस्था छ, १० हजार मानिसहरू कर्णालीमा आउँछन्,’ उनले भने, ‘हामी त्यो दिनको पखाईमा छौं,’ उनले भने, ‘मूल आयोजक समितिले प्रदेश सरकारसँग समन्वय गर्न जोड दिन आवश्यक छ ।’
मुख्यमन्त्री कँडेलले कर्णालीमा मूल आयोजक समितिको सचिवालय स्थापना भएपछि प्रतियोगिता हुने विश्वास जागेको बताउँदै भने, ‘यो प्रतियोगिता हामी कर्णालीवासीका लागि अवसर हो, हामीले निर्धारित मितिमै गरेर सफल बनाउनुपर्छ, यसमा प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहन्छ ।’
प्रदेशमा यति ठूलो संरचना बनेको छ। यसको समयमै सही सदुपयोग गर्न आवश्यक छ रहेको बताउँदै मुख्यमन्त्री कँडेलले भने, ‘संघ तयार भए प्रदेशको सहयोग सबै कुरामा रहनेछ ।’
कर्णाली प्रदेशका सामाजिकमन्त्री घनश्याम भण्डारीले सुर्खेतमा सचिवालय खुलेपछि तोकिएकै समयमा दसौं प्रतियोगिता हुन्छ भन्ने विश्वास जागेको बताए । उनले रोकिएको बन्द प्रशिक्षण पुनः सुचारु गर्ने जनाए । ‘कर्णालीमा यो प्रतियोगिता हुनु भनेको कर्णाली प्रदेशले राष्ट्रियस्तरका कार्यक्रम गर्न सक्छ भन्ने सन्देश जान्छ,’ मन्त्री भण्डारीले भने ।
वीरेन्द्रनगर–८ स्थित प्रदेश रंगशाला परिसरमा आइतबार दसौं खेलकुद प्रतियोगिता मूल आयोजक समितिको सचिवालय स्थापना गरिएको हो । सचिवालय स्थापनाका लागि खेलकुदमन्त्री चौधरीसहित राखेप सदस्यसचिव टंकलाल घिसिङ सुर्खेत आएका थिए । प्रतियोगिताको सचिवालय काठमाडौंस्थित राखेप केन्द्रीयमा पनि स्थापना गरिएको छ ।
