झापा — मेचीनगरमा भइरहेको मेचीनगर गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार अन्तिम क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबले एपीएफलाई १–० गोलले पराजित गरेको छ । यो खेलसँगै प्रतियोगिताको समीकरण पूरा भएको छ ।
मछिन्द्रका विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरेका थिए । खेलको ११ औं मिनेटमा मछिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफनले हेडर प्रहार गरे पनि बल बाहिरियो । खेलको ३५ औं मिनेटमा पुजन श्रेष्ठको फ्रिकिकमा युसुफले अवसर सदुपयोग गर्न सकेनन् ।
एपीएफबाट ७३ औं मिनेटमा कप्तान हरि कार्कीले १८ यार्डबाट टाढाबाट गरेको फ्रिकिक प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गरेर बचाए । ८० औं मिनेटमा अनमार्क रहेको एपीएफका अनिश महर्जनले गरेको प्रहार बाहिरियो ।
मछिन्द्रका प्रशिक्षक गणेश कटुवालले दुवै टिम राम्रो भए पनि आफ्नो टिम पूर्ण रूपमा सेट नभएकाले सोचे जति स्कोर निकाल्न नसकेको बताए ।लगातारका प्रतियोगिताका कारण खेलाडीहरूलाई पर्याप्त आराम नहुँदा खेल सोचेअनुसार हुन नसकेको उनको तर्क थियो । एपीएफका प्रशिक्षक तोप विष्टले पनि लगातारका प्रतियोगितामा खेल्दा अपेक्षित प्रदर्शन हुन नसकेको सुनाए । उनले एन्फाको अव्यवहारिक खेल तालिकाका कारण खेलाडी घाइते हुने गरेको उल्लेख गर्दै भविष्यमा खेलाडीले आराम पाउने गरी तालिका बनाउन सुझाए ।
प्लेयर अफ द म्याच मछिन्द्रका निर्णायक गोलकर्ता युसुफ मलिक घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरको प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाईं (एसपी) ले प्रायोजन गरेका छन् ।
अब मछिन्द्रले दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार पहिलो सेमिफाइनलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । काँकरभिट्टाले उद्घाटन खेलमा जर्जियन एफसी र धरानले उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई हराएर सेमिफाइनलमा पुगेका थिए ।
