विराट गोल्डकप : आर्मीलाई रोक्दै थ्रीस्टार फाइनलमा

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Virat Gold Cup: Stopping Army in three-star final

विराटनगर — थ्रीस्टार क्लब विराटनगरमा जारी ९औं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार सहिद रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो ।

थ्रीस्टारका लागि प्रशान्त लिम्बू, दिपेश घले र नवीन लामाले १/१ गोल गरे । खेल सुरु भएको पहिलो मिनेटमै दिपेश घलेको क्रसलाई प्रशान्तले चलाखीपूर्ण ढंगले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । 

दोस्रो गोल खेलको २८औं मिनेटमा आशिष चापागाईंको पासलाई दिपेश घलेले आकर्षक गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए । नवीन लामाले खेलको ८१औं मिनेटमा गोल गर्दै थ्रीस्टारको जित सुनिश्चित गरे ।

आर्मीका लागि कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १/१ गोल फर्काए । नवयुगले खेलको ८३औं मिनेटमा गोल गरेका थिए भने अतिरिक्त समयमा डिबक्स भित्र आर्मीका निसान्त राईलाई फाउल गरेपछि रेफ्री श्याम दनुवारले दिएको पेनाल्टीमा निरज चौधरीले गोलमा रुपान्तरण गरे । 

थ्रीस्टार अब सोमबार हुने अन्तिम सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग उपाधिका लागि भिड्ने छ । 

पहिलो हाफमा २–० को गोल अन्तर भएपछि आर्मी दबाबमा परेको थियो । खेल बराबरीमा ल्याउने प्रयास गरे पनि अन्तिमसम्म उसको प्रयत्न विफल भयो । दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरे पनि आर्मीले पाएका अवसरहरू सदुपयोग गर्न सकेन । खेल अवधिभर आर्मीका दर्जन प्रहार असफल भए । कप्तान नवयुग श्रेष्ठका आधा दर्जन प्रहार थ्रीस्टारका डिफेन्डर र गोलकिपरले निस्तेज पारे । 

खेलको २२औं मिनेटमा आर्मीका फत्तेमान घलेको प्रहार बारमाथिबाट बाहिरियो । २८औं मिनेटमा नवयुग श्रेष्ठको कडा प्रहारलाई थ्रीस्टारका गोलरक्षक विवेक मगरले रोकिदिए । ५६औं मिनेटमा निरज चौधरीको क्रस पासमा नवयुगले गोल गर्न सकेनन् । ७०औं मिनेटमा निरजले डिबक्स भित्रबाट नवयुगलाई दिएको पासलाई पनि सदुपयोग गर्न सकेनन् । 

प्रतियोगिताको 'प्लेयर अफ द म्याच' थ्रीस्टारका प्रशान्त लक्सम लिम्बू भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

कान्तिपुर संवाददाता

Link copied successfully