विराट गोल्डकप : उपाधि भिडन्तमा चर्च ब्वाइज र थ्रीस्टार

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Virat Gold Cup: Church Boys and Threestar in title clash

विराटनगर — सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं  विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार विराटनगर सहिद मैदानमा सम्पन्न सेमिफाइनलमा बलियो विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजले यस सिजनको २४औं आहा रारा गोल्डकपमा पुलिससँगको हारको बदला लिएको छ ।  त्यसबेला पुलिसले चर्च ब्वाइजलाई १–० गोलले हराएको थियो । 

पटक–पटक अवसर सिर्जना गरे पनि पुलिस क्लबले गोल फर्काउन नसक्दा प्रतियोगिताबाट बाहिरिनु परेको हो । खेलको ७०औं मिनेटमा लाक्पा पाख्रिनले गरेको एक मात्र गोल चर्च ब्वाइजको जितको निर्णायक बन्यो ।  विदेशी खेलाडी एबायोमीले दिएको लामो पासलाई लाक्पाले कुशलतापूर्वक जाली चुमाएका थिए । 

चर्च ब्वाइजले बुधबार उपाधिका लागि चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि आइतबार सम्पन्न सेमिफाइनलमा थ्रीस्टारले त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । 

क्वाटरफाइनलमा चर्चले एनआरटीलाई २–० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । 

२०७२ सालको चौथो संस्करणमा झापा–११ लाई १–० गोलले पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको थियो । यसपटक भने पुलिसको यात्रा सेमिफाइनलबाटै टुंगिएको छ । 

‘प्लेयर अफ द म्याच’ चर्च ब्वाइजका गौरव श्रेष्ठ भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।

कान्तिपुर संवाददाता

Link copied successfully