दाङ — प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
किरण ठगुन्नाको अविजित १ सय २१ रनको मद्दतमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशविरुद्ध ६ विकेटको सहज जित हासिल गरेको हो । सुदूरपश्चिमले २ सय २१ रनको लक्ष्य ४३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले विस्फोटक पारी खेल्दै १ सय १ बलमा ६ छक्का र ९ चौकाको मद्दतमा १ सय २१ रन बनाउँदा नारायण जोशीले ३८ रनको अविजित योगदान दिए । यस प्रतियोगितामा किरण ठगुन्ना शतक बनाउने पहिलो खेलाडी बनेका छन् । यसैगरी, सुदूरपश्चिमका लागि खडक बोहराले १९ रन, निश्चल क्षेत्रीले १८ रनको योगदान दिए । गण्डकी प्रदेशका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले आठ विकेटको क्षतिमा २ सय २० रन बनायो । गण्डकी प्रदेशका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतकीय पारी खेले । दीपक डुम्रेले ६०, अर्जुन कुमालले ५७, सुदीप अर्यालले २३, वंश क्षेत्रीले १८, दिनेश बुढा मगरले १५, अमृत गुरुङ र विपिन खत्रीले समान १०–१० रनको योगदान दिए ।
सुदूरपश्चिमका तर्फबाट कप्तान शेर मल्लले ३ विकेट, नारायण जोशीले २ विकेट, हेमन्त धामी, मिलन बोहरा र अर्जुन विकले समान १–१ विकेट लिए । गण्डकी प्रदेशसँगको जितसँगै सुदूरपश्चिम प्रदेश २ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ । सुदूरपश्चिम प्रदेशलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका किरण ठगुन्ना 'प्लेयर अफ द म्यान' भए ।
यसअघि आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशसँग नाटकीय रुपमा ७९ रनको हार व्यहोर्दै पराजित भएको थियो । अब मंगलबार कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच खेल हुने तालिका रहेको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीयसहित सात प्रदेश टिम सहभागी छन् ।
दाङसहितमा रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेल राउन्ड रोबिनका आधारमा भइरहेका छन् । हरेक टिमले एक अर्को टिमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका छ ।
