झापा — पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई टाइब्रेकरमा स्तब्ध पार्दै धरान एफसी पाँचौं मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान एफसीले ब्ल्याक बुल्सलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १/१ को बराबरीमा रोकिएपछि टाइब्रेकरबाट अन्तिम निर्णय लिइएको हो । टाइब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जीसीले गोल गरेका थिए ।
व्ल्याक बुल्सका खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरे भने आसिभेक एरिफजोनोभको प्रहार धरानका गोलरक्षक विपुल मगरले निस्तेज पारे ।
खेलको ६०औं मिनेटमा व्ल्याक बुल्सले अग्रता लिएको थियो । इस्लोमजोनको क्रस पासमा आसिभेकको हेडर गोलमा परिणत भयो । तर, ८४औं मिनेटमा धरानले गोल फर्काउँदै बराबरी गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
कप्तान मिलन राईको पासमा वैकल्पिक खेलाडी सुगम जीसीले गोल गर्दै धरानलाई बराबरी अवस्थामा उभ्याए । व्ल्याक बुल्सका डिफेन्डरहरूको गल्तीको फाइदा उठाउँदै जीसीले सहजै जाली चुमाएका थिए ।
खेलको चौथो मिनेटमै व्ल्याक बुल्सका इस्लोमजोनले फ्रिकिक पाए तर गोल गर्न सकेनन् । त्यस्तै, ३३औं मिनेटमा धरानका कप्तान मिलन लिम्बू र ४३औं मिनेटमा व्ल्याक बुल्सका अलिजोनको प्रयास विफल भयो । ७०औं मिनेटमा धरानका सुरज रसाइलीको प्रहार व्ल्याक बुल्सका गोलरक्षकले बचाएका थिए ।
जितपछि धरानका प्रशिक्षक हेम गुरुङले खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र विपक्षीको रणनीति बुझेर खेल्न सकेका कारण जित निकाल्न सफल भएको बताए ।
व्ल्याक बुल्सका प्रशिक्षक सामीप्य सुवेदीले लामो यात्राका कारण खेलाडी थकित भएको र केही मुख्य खेलाडीको अभावमा टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको स्वीकारे ।
धरानका वैकल्पिक गोलरक्षक विपुल मगर ‘प्लेयर अफ द म्याच’ भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
मंगलबार विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र मच्छिन्द्र फुटबल क्लबबीच हुने आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए ।
