हेटौंडा — दसौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौंले हात पारेको छ ।
हेटौंडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाडौंलाई टाइब्रेकरमा पराजित गर्दै किङ्कम भेट्रान्स च्याम्पियन बनेको हो । विजेताले १ लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी हात पार्न सफल भएको छ भने उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
खेलको १४ औं मिनेटमा फ्रिडम फाइटर भेट्रान्सका तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए पनि खेलको २७ औं मिनेटमा किङ्कम भेट्रान्सका खेलाडी जगतमान लामाले गोल गर्दै बराबरीमा तुल्याएका थिए । निर्धारित समयमा दुवै समूहबाट बराबरी गोल भएपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा ३–२ गोल अन्तरमा किङ्कम भेट्रान्स विजयी भएको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फ्रिडम फाइटरका तेन्जिङ लामा भए । उनले १० हजार रुपैयाँसँगै ट्रफी हात पारे । खेलाडीहरूलाई हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले पुरस्कार प्रदान गरेकी थिइन् ।
प्रतियोगिताको मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका र सह–प्रायोजक हेटौंडा स्कुल अफ म्यानेजमेन्ट रहेका थिए । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा फागुन २२ गतेबाट सुरु भएको प्रतियोगितामा मुलुकमा विभिन्न भागबाट १५ वटा भेट्रान्स टिमले भाग लिएका थिए ।
