हिमालय शेर्पालाई हराउँदै मच्छिन्द्र पाँचथर गोल्डकपको सेमिफाइनलमा

फाल्गुन २६, २०८१

लक्ष्मी गौतम

Defeating Himalaya Sherpa in the semifinals of Machindra Panchthar Gold Cup

पाँचथर — हिमालय शेर्पालाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार हिमालयनलाई २-१ ले हराउँदै मच्छिन्द्रले सेमिफाइनल यात्रा तय गरेको हो । 

मच्छिन्द्रका तर्फबाट खेलेका विदेशी खेलाडी स्टेफेनले २७औं मिनेटमा गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए । टिमका लागि दोस्रो गोल भने ३०औं मिनेटमा जय गुरुङले गरे ।

मध्यान्तर पछि ९० औं मिनेटमा हिमालय शेर्पाका सुजन स्याङतानले एक गोल गरे पनि त्यो पर्याप्त भएन । मच्छिन्द्रका विशाल घलान म्यान अफ द म्याच घोषित भएर नगद ७ हजार ५ सयसहित पुरस्कृत भए ।

मंगलबार विभागीय टिम नेपाल पुलिस क्लब र नमो बुद्व फुटबल क्लब सप्तरीबीच पहिलो चरणको अन्तिम खेल हुने आयोजकले जनाएको छ । खेल फिदिम माविको मैदानमा अपराह्न ३ बजे सुरु हुने तालिका छ ।

फागुन २४ गतेदेखि सुरु भएको पाँचौँ संस्करणको पाँचथर गोल्डकपमा नेपाल र भारतका ८ टिम सहभागी छन् । जसमध्ये भारतको हिल्स एकेडेमी, हिमालयन शेर्पा र आयोजक पाँचथर क्लब पहिलो चरणबाट बाहिरिएका छन । यस संस्करणका विजेताले नगद ११ लाख १ हजार १ सय ११ र उप विजेताले ५ लाख ५ हजार ५ सय ५५ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully