काठमाडौँ — चैत १ देखि ३ गते सम्म पाँचौँ मञ्जुश्री ट्रेल रेस (एमटीआर) हुने भएको छ । आयोजक मञ्जुश्री ट्रेल रेसका अनुसार यसपल्ट ५ सयभन्दा बढी खेलाडी दौडनेछन् । मञ्जुश्री ट्रेस रेसमा ४०८ र महिला ९४ छन् । ३७१ नेपाली र १३१ विदेशीको सहभागिता रहनेछ ।
पाँचौँ मञ्जुश्री ट्रेल रेसमा सय माइल्स, एक सय किमि, ५० किमि, ३० किमि र १० किमि इभेन्टमा दौड हुनेछ । १०० माइल्स स्वयम्भूस्थित सिंगल ट्रीबाट सुरु भई सोही स्थानमा आएर सकिनेछ । १०० किमि रेस नगरकोटको सेरेन रिसोर्टबाट, ५० किमि रेस गोदावरीबाट तथा ३० किमि रेस सोलिड रक लज डोल्लु पर्मिङबाट सुरु हुनेछ । सबै रेस सिंगल ट्रीस्थित पवना हाउसमा पुगेर सकिनेछ ।
मन्जुश्री ट्रेल रेस एसिया ट्रेल मास्टर्सको क्वालिफायर इभेन्ट हो । मन्जुश्रीमा विजेता हुने खेलाडी भियतनामा हुने एसिया ट्रेल मास्टर्समा चयन हुनेछन् । एसिया ट्रेल मास्टर्समा नेपाली खेलाडी उपाधि दावेदारको रूपमा रहने गर्दछ ।
सन् २०२३ मा रसिला तामाङ र २०२४ मा प्रिया राईले एसिया ट्रेल मास्टर्सको उपाधि जितेका थिए । धाविका रसिलाले ट्रेल रेस नेपालीका लागि अन्तर्राष्ट्रिय पदक सम्भावनाको खेल भएको बताइन् ।
१०० माइल्समा पहिलोदेखि तेस्रो हुनेले क्रमशः ७५, ४० र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । १०० किमिमा पहिलोदेखि तेस्रो हुनेले क्रमशः ५०, २५ र १५ हजार तथा ५० किमिमा पहिलोदेखि तेस्रो हुनेले क्रमशः ३०, १५ र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । ३० किमिमा पहिलोदेखि तेस्रो हुने क्रमशः २०, १० र ५ हजार पुरस्कारको हकदार हुनेछन् ।
मन्जुश्री ट्रेल रेसका कार्यबाहक अध्यक्ष नारायण आचार्यले किंवदन्तीअनुसार मञ्जुश्री चीनबाट नेपालसम्म हिँडेर आएको, त्यो बेला काठमाडौं उपत्यका पानीले भरिएको र मञ्जुश्रीले चोभारको डाँडा काटेर काठमाडौं उपत्यका बस्न लायक बनाएको कथा रहेकाले त्यसैले प्रभावित भई रेसको नाम मञ्जुश्री ट्रेल रेस राखिएको बताए ।
रेस डाइरेक्टर आशिष मिश्रले पहिलो संस्करणमा सातजना धावकमात्र रहेको स्मरण गर्दे अहिले ५ सयभन्दा बढीले सहभागिता जनाउनु ठूलो खुशीको पक्ष भएको बताए ।
