अस्ट्रेलिया — यती एफसी फुटबल क्लबले १४ औं संस्करणको कँडेल कन्सल्टेन्सी कपको उपाधि उचालेको छ । मेलबर्नमा नेपाली समुदायबीच हुँदै आएको प्रतियोगिताको फाइनलमा आयोजक टोली यतीले रोयल वेस्टर्न क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्यो ।
डेराविन स्पोर्ट सेन्टरमा भएको फाइनलमा यतिबाट कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले तथा रोयलबाट आकाश बुढामगर र रवि थिङले रोयलका लागि गोल गरे । प्लेयर अफ द फाइनल गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै यतीलाई जिताए । यती एफसीले ट्रफी, १२ हजार डलर र उपविजेता रोयलले ४ हजार ५ सय डलर पाएको छ ।
प्रतियोगिताको ३५ वर्षमाथिको इभेन्ट पनि यतीले नै जित्यो । यतीले फाइनलमा मकआर्थर नेप्लिज क्लबलाई ४–३ गोल अन्तरले हरायो । यतीका लागि सागर थापा, जुमानु राई, पंकज लामिछाने र प्लेयर अफ द फाइनल युकेश श्रेष्ठले गोल गरे । पराजित टोलीका अनिल गुरुङले २ तथा राजेशले १ गोल फर्काए । विजेता यतीले २ हजार ५ सय र उपविजेताले १ हजार डलर प्राप्त गरेको छ ।
उपाधिको व्यक्तिगत विधातर्फ आयोजक टिमकै खेलाडीको वर्चस्व रह्यो । यती एफसीका सुमन लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । यतीकै एलन न्यौपाने उत्कृष्ट गोलरक्षक र आशिष लामा सर्वाधिक गोलकर्ता बने । उनले ६ खेलमा १० गोल गरे । ३५ वर्षमाथि सागर थापा र अनिल गुरुङले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । सागर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । यतीकै कबुस अमात्य उत्कृष्ट गोलरक्षक बने । उनीहरू सबैले २ सय डलर हात पारे ।
अस्ट्रेलियाका विभिन्न राज्यबाट ४० टिमको सहभागिता रहेको यती फुटबल क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक सज्जन शर्माले जनाए ।
