फारवेस्टद्वारा उपाधि रक्षा, टमाटालाई न्याभ अवार्ड 

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Title defense by Farwest, NAV Award to Tamata

अस्ट्रेलिया — फारवेस्ट हन्टर क्रिकेट क्लबले नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आइतबार मेलवर्नमा भएको फाइनलमा फारवेस्टले एक्सपर्ट सगरमाथा ब्लुजलाई ८ विकेटले हरायो । 

नेपाली समाज भिक्टोरियाको वार्षिक कार्यक्रमको निरन्तरताका रूपमा न्याभ कप क्रिकेट आयोजना हुँदै आएको छ । फारवेस्टले २०औं संस्करणको फाइनलमा आइतबार १ सय ८२ रनको लक्ष्य १३ बल अगाडि पूरा गर्‍यो ।

कप्तान तथा ओपनर केशव पन्तले २६ बलमा ५९ रन बनाउने क्रममा ५ छक्का र ६ चौका प्रहार गरे । अर्का ओपनर आर्यन विष्ट ३४ रन बनाएर आउट भए । महेश खत्री र सुनील भाटले क्रमशः ३३ र ३६ रनको अविजित इनिङ्स खेले । 

यसअघि ब्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८१ रन बनाएको थियो । ओपनर अभिनाश जीसीले ७७ रन बनाए । उनले ५३ बल खेली ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै रसिम कँडेलले ३१ रन जोडे । 

सेमिफाइनलमा एक्सपर्टले ट्राइकन क्रिकेट टिम र फारवेस्टले चितवन क्रिकेट क्लबलाई पराजित गरेका थिए । हरेक सप्ताहन्तमा सञ्चालन गरिएको प्रतियोगितामा यस वर्ष १७ टिम सहभागी थिए । भिक्टोरिया राज्यमा रहेका नेपाली समुदायका टिमहरूबीच प्रतिस्पर्धा गराइने यो प्रतियोगिता न्याभले नेपाली समुदायबीच पर्वका रूपमा स्थापित गराउने लक्ष्य राखेको छ । 

टमाटालाई न्याभ अवार्ड 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वमुख्य प्रशिक्षक जगत टमाटा न्याभ अवार्ड २०२५ बाट सम्मानित भएका छन् । आइतबार साँझ मेलवर्नमै आयोजित विशेष कार्यक्रममा न्याभका अध्यक्ष डा. एकिन्द्र तिमिल्सिना, भिक्टोरिया राज्यका लागि नेपाली वाणिज्यदूत नीराजन गौलीलगायतले नेपाली प्रशिक्षक हस्ती टमाटालाई सम्मान गरेका हुन् । 

यो अवार्डबाट गत वर्ष नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई तथा त्यसअघि पूर्वकप्तान पारस खड्कालाई सम्मानित गरिएको थियो । न्याभले अस्ट्रेलियाली दूतावासको रोहवरमा तीन वर्षअघि क्यानसँग गरेको सम्झौताकै निरन्तरताका रूपमा हरेक वर्ष नेपाली क्रिकेट व्यक्तित्वलाई सम्मान गर्दै आएको पूर्वअध्यक्ष प्रेमराज उप्रेतीले जनाए । 

भिक्टोरियाका लागि नेपाली वाणिज्यदूत गौलीले यहाँको सबैभन्दा पुरानो नेपाली संस्था न्याभले सञ्चालन गर्ने समुदायलक्षित गतिविधिको प्रशंसा गरे ।

कान्तिपुर

Link copied successfully