दाङ — प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेशले जित हासिल गरेको छ ।
सुदूरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णाली प्रदेशले विजयी सुरुवात गरेको हो । १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश २१ ओभरमै सबै विकेट गुमाउँदै केबल ७६ रनमा समेटिएपछि कर्णालीले सुखद सुरुवात गरेको हो ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले अर्जुन घर्तीको ७१ रनको योगदानमा १ सय ५५ रन बनायो । कर्णालीका लागि दिनेश अधिकारीले १७ रन, दीवान पुनले १२ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
कर्णालीलाई सामान्य लक्ष्यमा रोक्न हेमन्त धामीले महत्त्वपूर्ण ४ विकेट लिए । यसैगरी, नारायण जोशीले २ विकेट लिँदा शेर मल्ल, मिलन बोहोरा, भोजराज भट्टले समान १/१ विकेट लिए । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले पहिलो ५ ओभर बिनाविकेटको क्षतिमा ३० रन बनाएर सुखद सुरुवात गरे पनि त्यसपछि विकेट पतन नरोकिँदा हार बेहोर्यो । सुदूरपश्चिमका कुनै पनि ब्याटर क्रिजमा टिक्न नसक्दा नाटकीय रूपमा हार बेहोर्यो ।
सुदूरपश्चिमलाई ७६ रनमा समेट्न कर्णालीका दीपेन्द्र रावतले उत्कृष्ट प्रदर्शन गर्दै ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर महत्त्वपूर्ण ७ विकेट लिएपछि जित हासिल गरेको हो । खेलमा दिवान पुनले २ विकेट लिए । सुदूरपश्चिमका लागि खड्क बोहोराले २७ रन, किरण ठगुन्ना र शेर मल्लले समान १३/१३ रन बनाउनुबाहेक सुदूरपश्चिमका अरु खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
कर्णालीलाई महत्त्वपूर्ण जित दिलाउन ७ विकेट लिएका दीपेन्द्र रावत प्लेयर अफ द म्याच भए । प्रतियोगिताअन्तर्गत अब सोमबार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।
दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिता आगामी चैत १६ गतेसम्म चल्नेछ । ३ विभागीयसहित सात प्रदेश टिम सहभागी प्रतियोगिताका खेल राउन्ड रोबिनका आधारमा हुनेछन्। ।
