काठमाडौँ — युगान्डामा शनिबार सुरु चारदेशीय प्रतियोगिताको पहिलो खेलमै नेपाल पराजित भएको छ । नामिबियाले इन्टेबेमा पहिलो पटकको प्रतिद्वन्द्वी नेपाललाई डकवर्थ लुइस पद्धतिमा ६ विकेटले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गरेको नेपाल ९२ रनमा अलआउट भयो । जवाफमा नामिबियाले ८ ओभरमा १ विकेट गुमाई ३९ रन बनाएको अवस्थामा खेल वर्षाले विथोलेको थियो । वर्षा रोकिएपछि नामिबियालाई १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य दिइएको थियो ।
नामिबियाले १४.५ ओभरमा लक्ष्य पूरा गरेको थियो । ओपनर मेकेलाये वाटिलेले सर्वाधिक २६ रन बनाइन् । उनले ३५ बल खेल्दा ३ चौका प्रहार गरिन् । जुरिइन डिइरगार्डट ७ बलमा १ चौकासहित १३ रनमा अविजित रहिन् । नेपालबाट कप्तान इन्दु बर्मा, पूजा महतो, कविता जोशी र ईश्वरी विष्टले १–१ विकेट लिए ।
त्यसअघि नेपालबाट ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाइन् । उनले आक्रामक सुरुआत दिलाउनेक्रममा ११ बल खेल्दै ४ चौका प्रहार गरिन् । तर, अर्की ओपनर रुबिना क्षेत्रीसहित राजमती ऐरी, रचना चौधरी शून्यमा आउट भएपछि नेपालले बाँकी समय दबाबमा खेल्नुपरेको थियो । पूजा २० बल खेल्दै १ चौकासहित १३, कप्तान इन्दु २, रोमा थापा ९, एलिसा यादव र ‘डेब्यु’ गरिरहेकी रिया शर्मा १–१ रनमा आउट भए ।
ईश्वरी १७ रनमा अविजित रहिन् । उनले १४ बल खेल्दा २ चौका प्रहार गरिन् । नामिबियाबाट विल्का वाटिल र मेकेलाये वाटिलेले ३–३ विकेट लिए । युगान्डा र हङकङ पनि समावेश प्रतियोगितामा नेपालले आइतबार घरेलु टोली युगान्डासँग खेल्दै छ ।
नेपालको यो लगातार नवौं हार हो । गत वर्षको जुलाई १९ मा यूएईलाई श्रीलंकामा ६ विकेटले पराजित गरेयता नेपाल निरन्तर पराजित हुँदै आएको छ ।
