जंगु र रूपालाई बाँके एमटीबी रेस उपाधि

फाल्गुन २५, २०८१

रुपा गहतराज

Jangu and Roopa won MTB race titles

नेपालगन्ज — जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटीबी रेस २०२५ को मुख्य उपाधि जंगु थारू र रूपा थारूले जितेका छन् ।

पाँच किलोमिटर दूरीको क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ः५८ मिनेटमा निर्धारित दूरी पूरा गरी प्रथम हुँदा विशाल थारू (५७ः५६) दोस्रो र विमलेश यादव (५७ः५८) तेस्रो भए । शीर्ष तीन खेलाडीलाई क्रमशः नगद सात हजार, पाँच हजार र तीन हजारका साथै ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरियो ।

त्यसैगरी इलाइट महिलातर्फ रूपाले ४३ः३६ मिनेटको समय निकालेर कोर्स पूरा गर्दा कविता सार्कीले ४६ः४२ मिनेटको समय निकाल्दै दोस्रो र सीता सार्की ४७ः२८ मिनेटसहित तेस्रो भइन् । शीर्ष तीन जनाले क्रमशः नगद सात हजार, पाँच हजार र तीन हजारका साथै पदक, प्रमाणपत्र पाए ।

नेपालगन्ज नजिकै डुडुवा गाउँपालिकामा अवस्थित ट्रेल कोर्समा भएको रेसमा मास्टरतर्फ देव बोहरा (३४ः३१) पहिलो, दीपक मल्ल (३८ः४२) दोस्रो र विशाल श्रेष्ठ (४१ः०६) तेस्रो भए । मास्टरतर्फका शीर्ष तीन जनालाई नगद सात हजार, पाँच हजार र तीन हजारका साथै पदक, प्रमाणपत्र दिइयो। त्यस्तै भेट्रानतर्फ अजय केसी (४१ः०३), जितेन्द्र थारू (४२ः०८) र कविराम बुढाथोकी (४४ः५१) ले क्रमशः शीर्ष तीन स्थान हासिल गरे ।

यूसीआई क्रसकन्ट्री ओलम्पिक फर्म्याटमा सञ्चालन गरिएको रेसमा जुनियर विधामा दिलोचन बोहराले ३५ः४४ समय निकाल्दै पहिलो, वीरेन्द्र धोबीले ३५ः५५ समय लिई दोस्रो र रन्जित चौहानले ३७ः०८ समय लिएर तेस्रो स्थान सुरक्षित गरे । भेट्रान र जुनियरतर्फ शीर्ष तीनले पाँच हजार, तीन हजार र दुई हजार नगदका साथै पदक र प्रमाणपत्र प्राप्त गरे ।

डुडुवा गाउँपालिकास्थित जंगलमा रहेको यो कोर्स साइक्लिङका लागि निकै सुन्दर र आकर्षक मानिन्छ । साइकलमार्फत पर्यटक भित्र्याउन गाउँपालिकाले यस रेसलाई महत्त्वपूर्ण आर्थिक सहयोग गरेको रेस आयोजक नेपालगन्ज बाइसाइकल्सका प्रमुख गगन थापाले जानकारी दिए । टिम द एजको सहकार्यमा भएको यो रेस हरेक वर्ष सञ्चालन गरिने थापाले बताए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully