अन्ततः नेपाली महिला क्रिकेट टोली विजयी

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Finally, the Nepali women's cricket team won

काठमाडौँ — नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले लगातार नौ खेलको हारको शृंखला टुंग्याएको छ । युगान्डामा भइरहेको चारदेशीय प्रतियोगितामा नेपालले आइतबार घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक विजय हात पारेको छ । १० खेलपछि नेपालले पहिलो विजय हात पारेको हो । 

गत वर्षको जुलाई १९ मा यूएईलाई एसिया कपमा श्रीलंकामा ६ विकेटले पराजित गरेयता नेपाल जितविहीन रहेको थियो । त्यसै प्रतियोगितामा भारत र पाकिस्तानसँग पराजित नेपाली टोली अघिल्लो महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक शृंखलामा नेदरल्यान्ड्स र थाइल्यान्डसँग ३–३ पटक पराजित भएको थियो । शनिबार यसै प्रतियोगिताको पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटको हार भोगाएको थियो । 

नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको युगान्डाले इन्टेबेमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई ७५ रन मात्र बनाउन सक्यो । ओपनर इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाइन् । उनले ४० बल खेली ३ चौका प्रहार गरिन् । स्टेफानी नामपिनाले २५ बलमा १४ र मालिसा अरिकोटले २४ बलमा ११ रन बनाइन् । नेपालबाट पूजा महतोले ३ विकेट लिइन् । ओपनिङ बलर उनले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिन् । कप्तान इन्दु बर्माले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर २ विकेट लिइन् । 

नेपालले सना प्रवीणलाई ‘डेब्यु’ गराएको थियो । ओपनिङमा आएकी उनले ३६ बल खेली १ चौका प्रहार गर्दै सर्वाधिक १७ रन बनाइन् । अर्की ओपनर सम्झना खड्का ८ र इन्दु ६ रनमा आउट भइन् । अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याचमा चुनिएकी पूजाले १६ रन बनाइन् । २९ बल खेलेकी उनले कुनै बाउन्ड्री भने प्रहार गर्न सकिनन् ।

कविता जोशी शून्य, रुविना क्षेत्री १०, विन्दु रावल २, रोमा थापा १, रचना चौधरी शून्यमा आउट भइन् । ईश्वरी विष्ट ३ र रिया शर्माले अविजित ४ रन बनाउँदै नेपाललाई १ बल अगाडि विजय दिलाइन् । युगान्डाकी जेनेट एमबाबाजीले ३ र सराहा वालाजाले २ विकेट लिइन् । डबल राउन्ड रोबिनमा हुने प्रतियोगितामा नेपालले सोमबार हङकङसँग खेल्नेछ । 

कान्तिपुर

Link copied successfully