मेचीनगर गोल्डकप फुटबल
झापा — नेपाल सुपर लिग (एनएसएल) को तयारीमा रहेको झापा एफसी पाँचौं मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । आइतबार राष्ट्रिय लिग विजेता चर्च व्वाइज युनाइटेडले झापा एफसीलाई सडन डेथमामा पराजित गर्दै अन्तिम चारमा पुग्न रोकेको हो ।
स्थानीय काँकडभिट्टा माविको मैदानमा भिडेका चिरपरिचित प्रतिद्वन्द्वीले निर्धारित समयसम्म १–१ गोल गरे । खेल बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरीपछि सडनडेथमार्फत खेलको निर्णय लिइएको हो ।
सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरेका थिए । झापाका धीरज विष्टको प्रहारलाई उनले निस्तेज पार्न सफल भएका हुन् ।
त्यसअघि टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल गरेका थिए भने सुरजज्यू ठकुरीको प्रहार झापाका गोलरक्षक कृशल मोक्तानले रोकेका थिए । झापाका रोशन पहारी, प्रवीन बस्नेत, बाफोर र गौरव धिमालले गोल गरे भने अभिनाश स्याङ्तानको प्रहार बाहिरिएको थियो ।
खेलको ६९ औं मिनेटमा चर्च व्वाइजका विदेशी खेलाडी रिचार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अबयोमी फकुन्लेले पेनाल्टी एरियामा दिएको पासलाई सदुपयोग गर्दै उनले उत्कृष्ट गोल गरेका थिए ।
९० औँ मिनेटमा झापाका कप्तान श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा ल्याएपछि खेल रोमानञ्चक मोडमा पुगेको थियो । चर्च व्वाइजका डिफेन्डरबाट रिबाउन्स भएको बललाई मुर्मुले वान टचमा जाली चुमाए ।
खेलभरि दुवै टिमले गोल गर्ने प्रयास गरे पनि धेरै अवसर गुमाएका थिए । चर्च व्वाइजका सुरजज्यू ठकुरीको कर्नर प्रहार असफल हुँदा ७२ औं मिनेटमा दोब्बर अग्रता लिने अवसर गुम्यो । झापा एफसीका धीरज विष्ट, प्रवीन बस्नेत, फैजल र कप्तान आर्यन राईका प्रहार गोलमा परिणत हुन सकेनन ।
खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका गोलरक्षक टीकेन्द्र थापा घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।
चर्च व्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले व्यस्त खेल तालिकाका कारण खेलाडी थाकेका कारण सोचेजस्तो प्रदर्शनमा चुकेको बताए । झापा एफसीका प्रशिक्षक प्रवेश कटुवालले एनएसएलको तयारीस्वरूप सीमित खेलाडी मात्र मैदानमा उतारेका कारण सोचेजस्तो नजिता नआएको बताए ।
सोमबार धरान एफसी र उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीबीच खेल हुने आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जनाएको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा भारत र उज्वेकिस्तानसहित ८ टोलीको सहभागिता छ । प्रतियोगिताको फाइनल चैत २ गते हुनेछ ।
