एपीएफ र लुम्बिनीको विजयी सुरुवात

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

फाल्गुन २५, २०८१

सन्जु पौडेल

APF and Lumbini's winning start

तिलोत्तमा — रूपन्देहीमा सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा एपीएफ र लुम्बिनीले विजयी सुरुवात गरेका छन् ।

जिल्लाको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको उद‍्घाटन खेलमा लुम्बिनीले कोशी प्रदेशलाई २६ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ ओभरमा अलआउट हुँदै २ सय ८ रन बनाएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ६६, नर सार्कीले ४५ तथा मिर्नाल गुरुङले ४३ रनको योगदान गरे । कोशीका लागि प्रकाश कार्की र दिपेश कँडेलले समान ३–३ तथा फिद्रोश अन्सारीले २ विकेट लिए ।

लुम्बिनीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२ ओभर ४ बलमा १ सय ८२ रनमै समेटियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे । ओपनर चिराग शाह ३१, सुवान गहतराज २९, साकिब हक २७ तथा कप्तान अंकित सुवेदी १८ रनमा आउट भए । 

बलिङमा लुम्बिनीका अजय चौहान चम्किए । उनले ८ ओभर ४ बलमा ३२ रन खर्चिएर ५ विकेट लिए । रमेश कुर्मीले ३ तथा देव खनाल र कृष्ण कार्कीले समान १–१ विकेट हात पारे । खेलमा लुम्बिनीका चौहान प्लेयर अफ द म्याच बने ।

रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले जित हात पारेको छ । एपीएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गरेको हो । खेलमा स्पिनर बलर कमलसिंह ऐरीले ८ ओभर २ बलमा २७ रन खर्चिएर ४ विकेट लिएपछि नेपाल एपीएफ क्लबले जित निकालेको हो । १ सय ७५ रनको लक्ष्य पछ्याएको बागमती २८ ओभर २ बलमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो । 

बागमतीका लागि शुभ कंसाकारले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कमलसिंह ऐरीले ४, कप्तान रोहितकुमार पौडेल र अमरसिंह राउटेलाले समान २–२ तथा अभिनाष बोहराले १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४४ ओभरमा १ सय ७४ रनमा अलआउट भएको थियो । उसका लागि सन्दीप जोराले ६२ बलको सामना गर्दै २ चौकाको सहयोगमा सर्वाधिक ३७ रन जोडे । दीपक बोहरा २५ तथा कमलसिंहले १५ रन बनाए । अमरसिंह २६ रनमा नटआउट रहे । बागमतीका लागि रिजन ढकालले ८ ओभरमा ३० रन खर्चिएर ५, नन्दन यादवले ३ र सूर्य तामाङले २ विकेट लिए । खेलमा कमलसिंह ऐरी प्लेयर अफ द म्याच भए ।

सोमबार सिद्धार्थ क्रिकेट रंगशालामा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश भिड्नेछन् भने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यसमिति सदस्य प्रथम पराजुलीले बताए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully