पुलिसलाई वीरगन्ज गोल्डकप

फाल्गुन २४, २०८१

भूषण यादव

Virgunj Gold Cup to Police

वीरगन्ज — नेपाल पुलिस क्लबले फाइनलमा मछिन्द्रलाई टाइब्रेकरमा ३–० ले पराजित गर्दै वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण जितेको छ । पुलिस साबिक विजेता हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

टाइब्रेकरमा मछिन्द्रका विश्वास तामाङ, दिवाकर चौधरी र समिराज थोकरले पेनाल्टी गुमाएका थिए । विश्वास र दिवाकरले पोस्टबाहिर प्रहार गरे भने समिराजको पेनाल्टी पुलिसका गोलकिपर अमित टमाटाले रोकेका थिए । पुलिसका उज्ज्वल राईको पेनाल्टी गुमाए भने रामचन्द्र वाजी, सन्जीव लामा र अमित टामाटाले गोल गरेका थिए ।

यसअघि खेलको पहिलो हाफमा मच्छिन्द्रले अग्रता लिएको थियो । खेलको १२ औं मिनेटमा विशाल तामाङको पासमा समिराजले हेड गोल गरेका थिए । सुरुवाती अग्रता लिएको मछिन्द्र पहिलो हाफमा विपक्षीमाथि हाबी देखिएको थियो । खेलको ५८ औं मिनेटमा पुलिसका उज्ज्वल राईको पासमा विकास बिकले गोल गर्दै टिमलाई खेलमा फर्काए । गोल बराबरी भएपछि दुवै टिम आक्रमक हिसाबले खेलेका थिए । दोस्रो हाफमा पनि मछिन्द्र नै हाबी देखिएको थियो । फाइनलमा म्यान अफ दी म्याच मछिन्द्रका समिराज थोकर घोषित भए । उनल १० हजार रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट गोलकिपर पुलिसका अमित टमाटा घोषित भए । उनले २० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट खेलाडी पुलिसका कप्तान रामचन्द्र वाजी चुनिए । उनले इलेक्ट्रिक स्कुटी प्राप्त गरे । उत्कृष्ट प्रशिक्षकको उपाधि पुलिसका चेतन घिमिरेले प्राप्त गरे । उनले २० हजार पाए । पुलिस क्लबले ११ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी उचालेको थियो । उपविजेता मछिन्द्रको भागमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ पर्‍यो । वीरगन्ज महानगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक थियो । नारायणी रंगशाला जीर्ण रहेकाले आदर्शनगर रंगशालामा गोल्डकप आयोजना गरिएको हो ।

भूषण यादव

Link copied successfully