राइजिङ स्टारलाई मुख्यमन्त्री कोहलपुर गोल्डकप

फाल्गुन २४, २०८१

रुपा गहतराज

Chief Minister Kohlpur Gold Cup to Rising Star

नेपालगन्ज — राइजिङ स्टार फुटबल क्लबले कोहलपुरमा भएको तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार फाइनलमा राइजिङ स्टारले आयोजक कोहलपुर रेसिङ सहारा क्लबलाई २–० ले हरायो । कोहलपुर–२ स्थित तेह्र बिगाह मैदानमा पहिलो हाफ गोलरहित भयो । दोस्रो हाफमा लगातार दुई गोल गर्दै पाहुना टोलीले पहिलो पटक उपाधि जितेको हो । पहिलो मिनेटमै राइजिङका कप्तान विनोद केवटले गोल गरे । लगत्तै दुई मिनेटको अन्तरमा उनले नै दोस्रो गोल गरेका हुन् । उनी म्यान अफ द म्याच घोषित भए ।

राइजिङले ट्रफीसहित ८ लाख रुपैयाँ प्राप्त गरेको छ । विजेता टोलीलाई कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले पुरस्कार प्रदान गरे । उपविजेता बनेको कोहलपुर रेसिङले ४ लाख रुपैयाँ पायो । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीको अवार्ड आयोजक रेसिङ सहाराका विनोद केसीले जिते । उनले ५१ हजार प्राप्त गरे । राइजिङ स्टारका चेतन थारू वेस्ट डिफेन्डर, प्रतीक सुनार उत्कृष्ट गोलकिपर, सन्दीप केसी उत्कृष्ट प्रशिक्षक अवार्ड हात पारे । विधागततर्फ उत्कृष्ट उनीहरुले १० हजार रुपैयाँ प्राप्त गरे । राइजिङ स्टारका विनोद केवट र काँक्रेबिहार फुटबल क्लबका धनसिंह बिक सर्वाधिक गोलकर्ता भए । उनीहरूले जनही ५ हजार प्राप्त गरे । कोहलपुर रेसिङ सहारा क्लबको आयोजनामा भएको प्रतियोगितामा आठ टिमको सहभागिता थियो ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully