चितवन — अर्किड स्कुलले भरतपुर मेयर्स कप इन्टरस्कुल लिग क्रिकेट प्रतियोगिता जितेको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको प्रतियोगितामा अर्किडले शनिबार नारायणी नमुना मावि ४ विकेटले हरायो । अर्किड साबिक विजेता हो ।
रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा भएको फाइनलमा नारायणीले दिएको ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । सलमान अन्सारीले अविजित २३ र मन्दिप बरालले १८ रन जोडे । नारायणीका उमेश महतोले २ र राहुल कुशवाहाले १ विकेट लिए ।
टस जितेको नारायणी २३.३ ओभर खेलेर ७६ रनमै अलआउट भयो । आयुश गिरीले २५ र समीर पौडेलले १४ रन बनाए । अर्किडका प्रसिद्ध अर्यालले ६ ओभरमा ७ रन खर्चिदै ४ विकेट लिए । कप्तान मन्दिप बरालले ६ ओभरमै २२ रन खर्चिदै ४ विकेट लिए ।
प्लेयर अफ द म्याच अर्किडका कप्तान मन्दीप बराल भए । ६ खेलमा २३ विकेट लिएका उनी सर्वाधिक विकेट लिने खेलाडी बने । ७ खेलमा २३४ रन बनाएका नारायणीका कृष्ण मगर सर्वाधिक रन बनाउने खेलाडी चनिए ।
विजेतालाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पिया, चितवन राइनोजका सीईओ प्रताप देवकोटाले पुरस्कार वितरण गरे । करिब ३ महिना चलेको लिग क्रिकेटमा भरतपुर महानगरका ४७ विद्यालय सहभागी थिए ।
