पाँचथर — विभागीय टोली एपीएफ क्लबले इलाममा आयोजित दोस्रो आमन्त्रित महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै एपीएफले उपाधि उचाल्यो ।
एपीएफकी गीता रानाले खेलको २५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसमा दोस्रो गोल सविता रानामगरले थपेकी हुन् ।
आर्मीकी विमला चौधरी एक गोल गरिन् । पटक पटक पाएका अवसर चुकाउँदा आर्मी उपविजेतामै सीमित बन्यो । एपीएफले ४ लाख र ट्रफी प्राप्त गर्दा आर्मीले २ लाख रुपैयाँ पुरस्कार पायो ।
फाइनलमा प्लेयर अफ द म्याच एपीएफकी सविता रानामगर घोषित भइन् । उनले ५ हजार पुरस्कार पाइन् । विधागतमा दुवै टिमका खेलाडी पुरस्कृत भए । उत्कृष्ट गोलरक्षक आर्मीकी अञ्जना राना चनिइन् । उनले १० हजार प्राप्त गरिन् । उत्कृष्ट डिफेन्डर आर्मीकै विमला बिक भइन् । उनले नगद १० हजार प्राप्त गरिन् ।
सर्वाधिक गोलकर्ता एपीएफकी रश्मिकुमारी घिसिङले १० हजार प्राप्त गरिन् । उत्कृष्ट मिडफिल्डर एपीएफकी रेनुका नगरकोटेले पनि १० हजार पाइन् । सर्वोत्कृष्ट खेलाडी एपीएफकी अनिता बस्नेत घोषित् भइन् । उनले १५ हजार प्राप्त गरिन् । क्लब ओएसिस इलामको आयोजनामा भएको गोल्डकपमा भारतको एकसहित आठ टिम प्रतिस्पर्धी थिए ।
