काठमाडौँ — नेपाली टेनिस खेलाडी अभिषेक बाँस्तोलाले क्यालिफोर्नियास्थित इन्डियाना वेल्समा जारी बीएनपी परिवास ओपन टेनिसमा आफूलाई हिटिङ पार्टनरको रूपमा परिचित बनाएका छन् ।
इन्डियाना वेल्स टेनिस गार्डेनमा एटीपी/डब्लुटीएको बीएनपी टेनिस मार्च २ देखि भइरहेको छ । प्रतियोगिता मार्च १६ सम्म चल्नेछ । अभिषेक वीएनपीमा लगातार दोस्रो पटक हिटिङ पार्टनरको रूपमा आमन्त्रित भएका हुन् । उनले हिटिङ पार्टनरको रूपमा एटीपी र डब्लुटीएका शीर्ष खेलाडीसँग अभ्यास खेल खेल्ने, उनीहरूलाई वार्मअप गराउने र अभ्यासमा सघाउनुपर्ने हुन्छ ।
अभिषेकले त्यसै क्रममा ग्रिसका स्टेफानोस सिट्सीपासको पनि हिटिङ पार्टनर भए । विश्व वरीयताको तेस्रो स्थानमा पुगिसकेका स्टेफानोससँग हिटिङ पार्टनर बन्न पाउनु आफ्ना लागि गर्वको क्षण भएको अभिषेकले बताए ।
जुनसुकै कोर्टमा पनि आक्रामक खेल प्रस्तुत गर्ने स्टेफानोस एक हाते ब्याकह्यान्डका लागि परिचित छन् । उनी ग्रिसको टेनिस इतिहासमा उच्च वरीयतामा पुग्ने खेलाडी हुन् । ग्रान्ड स्लाममा स्टेफानोस २०२१ को फ्रेन्च ओपन र २०२३ को अस्ट्रेलियन ओपन फाइनल पुगेका थिए । दुवै फाइनलमा उनी ग्रान्ड स्लाम किङको परिचय बनाएका सर्बियाली नोभाक जोकोभिचसँग पराजित भएका थिए ।
एटीपीका थुप्रै उपाधि जितेका स्टेफानोसले बिग थ्री (रोजर फेडेरर, राफेल नडाल र नोभाक जोकोभिच) को परिचान बनाएका खेलाडीविरुद्ध जित पाएका छन् । कोर्टबाहिर दार्शनिक स्वभावका उनी भ्रमण गर्न र भ्लगहरूका लागि परिचित छन् ।
हिटिङ पार्टनर भएर विश्वका शीर्षस्थ खेलाडीबाट व्यावसायिक टेनिसका धेरै कुरा सिक्ने अवसर पाइरहेको अभिषेकले सुनाए । ‘प्रतियोगिताकै हिटिङ पार्टनर भएकाले आवश्यकताअनुसार खटिनुपर्ने हुन्छ, विश्वका शीर्ष खेलाडीसँग हिट गर्ने मौका पाइन्छ । उनीहरूसँग अभ्यास गर्न पाउनु नै ठुलो अवसर हो,’ उनले कान्तिपुरसँग भने, ‘मेरा लागि उच्च स्तरमा अनुभव बटुल्ने अविश्वसनीय मौका हो भने नेपाली टेनिसका लागि ठूलो उपलब्धि हो ।’
