विराट गोल्डकप : मछिन्द्रविरुद्ध थ्रीस्टारको जित

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Virat Gold Cup: Three Star win against Machindra

विराटनगर — थ्रीस्टार क्लब विराटनगरमा भइरहेको नवौ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

सहिद रंगशालामा शुक्रबार तेस्रो क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र एफसीलाई २–१ गोलले हराएर थ्रीस्टारले अन्तिम चारमा स्थान बनायो । थ्रीस्टारले आइतबार पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।

पूर्व विजेता थ्रीस्टारको जितमा आशिष चापागाईं र दीपेश घलेले १–१ गोल गरेका थिए । १५ औ मिनेटमा थ्रीस्टारका आशिषले एन्जल महर्जनको पासमा बक्सभित्रबाट गोल गरे । अग्रता लिएको १० मिनेट बित्न नपाउँदै २५ औं मिनेटमा दीपेशले गोल थपेका थिए ।

मछिन्द्रबाट कप्तान देवेन्द्र तामाङले खेलको ८९ औं मिनेटमा गरेको हेड गोल टोलीका लागि सान्त्वना बन्यो । थ्रीस्टारका दीपेश घले म्यान अफ द म्याच घोषित भए । उनले ११ हजार पाए । थ्रीस्टारले बुधबार कपिलबस्तु तिलौराकोट गोल्डकपको फाइनलमा हारेको बदला विराट गोल्डकपमा आएर लिएको छ ।  

शनिबारको चर्च ब्वाइज युनाइटेड र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully